काभ्रेपलाञ्चोकमा हराए डेढ सय महिला–बालबालिका

सांकेतिक तस्बिर

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकबाट तीन वर्षमा करीब १५० महिला तथा बालबालिका हराएका छन् ।

यो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको छ । केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्म ३९६ महिला तथा बालबालिका हराएको उल्लेख छ । यसमध्ये १४५ जना फेला परेका छैनन् ।

आर्थिक वर्ष २०७२÷०७३ देखि यही असोज अन्तिम सातासम्म २७९ महिला, ३३ बालक र ८० बालिका हराएकाले आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। उनका अनुसार आव २०७२/०७३ मा १११ , २०७३/०७४ मा १०९, आव २०७४/०७५ मा १६१ तथा चालू आवको असोज अन्तिम सातासम्म १५ महिला तथा बालबालिका हराएको निवेदन आएको छ ।

हराएका ३९६ महिला तथा बालबालिकामध्ये महिला १५८, बालक २६ र बालिका ५७ जना फेला परेका हुन् । प्रहरी नायव उपरिक्षक गिरीले हराएकाहरुको खोजी गर्न जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरेको र खोजी तीव्र पारिएको बताए।

उनका अनुसार हराउने महिला तथा बालबालिकामध्ये आधाजसो प्रहरीको सक्रियतामा भेटिन्छन् भने अन्य आफन्तकै पहलमा भेटिएका छन् । पछिल्ला केही वर्षदेखि काभे्रपलाञ्चोकबाट महिला तथा बालबालिका हराउने क्रम बढिरहेकाले प्रहरीले हराएकाहरुको खोजी गर्ने छुट्टै एकाइ बनाउनुपर्ने जिल्लास्थित मानवअधिकारकर्मी भोजराज तिमल्सिना बताउछन्।

कात्तिक १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्