दसैँको रौनकबाट अलगिएको निर्मला परिवार!

काठमाडौँ— कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरबाट करिव ५ किलो मिटरको दुरी । घर अगाढी नै पक्की बाटो ।
बाटाको छेउमै छ एउटा सुनसान घर। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घर हो यो। घरवरपर अर्थात छिमेकीमा दसैँको चहलपहल निकै बाक्लै छ। पूजाआरधना, हर्षबडाई र हाँसो ।
तर निर्मलाकी आमा निराश मुद्रामा छिन्, परिवारका अन्य सदस्य मौन। छिमेकीका घरमा मिठा परिकार पाक्दै गर्दा निर्मला परिवारको भान्सामा आगो बल्न मुस्किल छ।
न्यायका लागि कञ्चरनपुरदेखि राजधानीका सडकसम्म दुईमहिनासम्म संघर्ष गरेर थाकेका निर्मला परिवारमा चित्त बुझाउने ठाउँ छैन खुुशीका लागि। घटना भएको यतिका दिनसम्म छोरीका हत्यारालाई सरकारले खोज्न नसक्नुले उनीहरुलाई पीडा माथि पीडा भएको छ।
‘दसैँमा सबैभन्दा धेरै रमाउने नै निर्मला थिइन्। परिवारका मात्र होइन आफन्तकी समेत प्यारी छोरी थिइन्। सबै काम सक्ने, विद्यालय नियमित जाने अनि मिहेनत गरेर पढ्ने उनको बानी थियो’, निर्मलाकी आमा दुर्गादेवी पन्त दैलोमा बस्दै भन्छिन्’, मेरो छोरीलाई त्यसरी मार्नु पर्ने कारण के थियो र ? अहिले अपराधीलाई छोड्नु पर्ने कारण के छ र ?’
छोरीलाई अनाहकमा गुमाउदाको शोकबाट उठ्न नसकेको निर्मला परिवारमा दसैँले झनै निराशा थपेको छ।
दूर्गादेवी भन्छ्नि’, दसैँ नआइदिएको भए हुन्थ्यो ।
हाम्रा लागि पीडा मात्रै भयो। किशोरी छोरी यो परिवारले गुमायो नै । दोषीलाई कारवाही नहुँदा गरिबका लागि न्याय रहेनछ भन्ने पनि प्रमाणित समेत भयो। ‘छोरी हुँदा घर उज्यालो थियो। दसैँसँगै सबै चाडपर्व रमाइलो गरी मनाउथ्यौँ । उनी दिदीबहिनीसँगै यो बेला मामाघर जान्थिन्’, आमा दूर्गादेवी भन्छिन्।
आमाबुवाका लागि सबैभन्दा ठुलो सम्पति छोराछोरी हुन्। तर दूर्गादेवीले निर्मलालाई बचाउन सकिनन्। त्यो सँगै उनको हाँसो र खुसी पनि गुम्यो। अनुसन्धानमा खटिएको प्रहरी प्रशासन हत्यारालाई नै जोगाउने खेलमा लाग्नु र छानविनमा निष्पक्षता नहुनुले पीडा थपिएको निर्मलाको परिवारको दुखेसो छ ।
निर्मला जिम्मेवारी र सामाजिक चेतनामा अघि थिइन्। उनीसँंगै हुर्केका उनका दिदी बहिनीमा कुनै उमंग छैन अहिले। दसैँ आउनु र नआउनुमा फरक छैन् उनीहरुमा । निर्मलासँग विताएका पलहरु सम्झिदै उनीहरु वेलावेलामा भक्कनीने समेत गर्छन्।
‘दसैँ भित्रिएपछि झन् मन रोइरहेको छ । पहिले हामी खुव रमाइलो गथ्र्यौ’, कक्षा १० मा अध्ययनरत निर्मलाकी दिदी मनिषा भन्छिन्।
दसैँमा मामाघर जाँदा सबैसँग मिल्ने, माया र आफु भन्दा ठूलालाई सम्मान गर्ने बानी थियो निर्मलाको। त्यो सम्झिएर उनीहरुलाई खल्लो महशुस भइहरेको छ।
‘मामाघरमा सबैलाई हाम्रो चिन्ता छ । निर्मलाको यादले उनीहरुलाई सताएको भन्छन्’, दूर्गादेवीले भनिन्, ‘यस्तो पीडामा कसरी जानु त्यहाँ।’
देशव्यापीरुपमा आवाज उठ्दा पनि निर्मलाका हत्यारालाई सरकारले कानुनी कठघरामा ल्याउन सकेको छैन। त्योसँगै निर्मला परिवारमा न्याय पाउने आशा पनि तुहिदै छ।
निर्मलालाई जस्तै अवस्था अन्य दिदीबहिनीको पनि हुने हो की भयमा पनि छन् उनीहरु । ‘कति बेला के हुन्छ थाहा छैन यो समाजमा । हामीले कसैको केही बिगारेका थिएनौ । नत हामीसँग धनसम्पत्ति नै थियो’, दूर्गादेवी भन्छिन।
गरिब परिवार । निर्मलाले पढेर केही राम्रो काम गर्छिन भन्ने आश थियो सबैलाई । उनको विभत्स हत्याले परिवारमा गहिरो चोट परेको छ। ‘कोही केटा आएर जिस्क्याउन थाल्यो भने उसलाई सम्झाएर पठाउथिन निर्मला । तर उनैमाथि यस्तो घटना भयो’, निर्मलाका दिदी मनिषा भन्छिन्, ‘मेरी बहिनीमाथि भएको घटना अरुमाथि नदोहोरियोस । ’
कञ्चनपुरमा दबावले सरकारको ध्यान नतानेपछि निर्मलाका अभिभावक अधिकारर्मीसँगै काठमाडौँ गए। प्रधानमन्त्री केपी ओलीलाई समेत भेटे । प्रधानमन्त्री ओलीले निर्मला पनि आफ्नै छोरी जस्तै भएको भन्दै हत्यारालाई चाडो पक्राउ गर्ने आश्वासन दिएपछि उनीहरु कञ्चनपुर फर्किएका थिए । तर, एक महिना वितेपनि हत्यारा नजिक पुग्न सकेको छैन प्रहरी ।
‘विभिन्न समिति गठन भए । प्रहरीका टोली अनुसन्धानका लागि खटाईए’, निर्मलाका बुबा यज्ञराजले प्रश्न गरे,‘खै अनुसन्धान जारी छ मात्रै भन्छन् उनीहरु।’
निर्मला हत्यालाई लिएर महेन्द्रनगरमा भएको आन्दोलनमा प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनाको परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख र भिमदत्त नगरपालिकाले ३ लाख राहत दिने घोषणा गरेको थियो।
खुन्नाका परिवारले राहत रकम बुझेपनि निर्मलाका परिवारले छोरीको हत्यारालाई कारवाही नभएसम्म राहत नलिने घोषणा गरेका छन्। ‘छोरीका हत्यारा पत्ता नलागेसम्म सरकारको राहत बुझ्दैनौ’, दुर्गादेवीले भनिन्, ‘राहत हैन न्याय दिनु पर्छ सरकारले।’