अंगरक्षकले गोली हानी गरे प्रहरी प्रमुखको हत्या

अफगानिस्तानका एक उच्च सुरक्षा कमाण्डरको हत्या भएको छ । कान्दाहार प्रान्तका प्रहरी प्रमुख जनरल अब्दुल राजिकलाई उनकै अंगरक्षकले गोली हानी हत्या गरेका हुन् ।

तालिबान बिद्रोहीले घटनाको जिम्मेवारी लिएको छ । आफूहरुको निशानामा जनरल राजिक र अमेरिकी कमाण्डर जनरल स्कट मिलर रहेको तालिबानले दाबी गरेको छ । अमेरिकी कमाण्डर जनरल मिलर भने भाग्न सफल भएका छन् ।

कान्दाहारका गभर्नरको घरमा भएको उच्च स्तरीय बैठक लगत्तै आक्रमण भएको हो । यसक्रममा स्थानीय जासुसी संस्थाका प्रमुखको पनि ज्यान गएको छ । गभर्नर गम्भीर घाइते भएका छन् । तीन अमेकिरी नागरिक पनि घाइते भएका छन् ।

कान्दाहारमा आउँदो शनिबार चुनाव हुँदैछ, त्यसको नजिकै पारेर आक्रमण भएको हो । आक्रमणकारी पनि मारिएको दाबी गरिएको छ । तालिबानले एक वक्तव्य जारी गर्दै जनरल राजिक हिंस्रक प्रहरी प्रमुख रहेको दाबी गरेको छ ।

कात्तिक २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्