भिगन विराट

विराट कोहलीले मासु र दूध-दही खान किन छोडे ?

अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले कुनै रेस्टुरेन्टमा गएर भिगन खानाको अडर गर्नु अब नौलो कुरो रहेन । किनकी उनले गर्भवती भएका बेला आफ्नो डाइटमा फेरबदल गर्दै भिगन खानपान अपनाएकी थिइन् । भिगनको अर्थ शाकाहारी त हो नै, त्यसमा दूध, दही, घिउ, मोही, पनिरसहितका दूधबाट बनेका परिकार पनि छोडिन्छ  ।

विश्व प्रशिद्ध फुटबल खेलाडी लियोनल मेस्सीले खेलको सिजन चलिरहेका बेला भिगन खाना खान्छन् भन्दा केही अचम्म पक्कै लाग्छ, किनकी दक्षिण अमेरिकामा शाकाहारी खाना पाउन निकै मुस्किल पर्छ । यस्तोमा त्यहाँ भिगन बन्न आफैमा एक चुनौतिपूर्ण काम हो ।

विश्व प्रशिद्ध खेलाडीहरु भिगन बन्ने सूचिमा अर्को नाम थपिएको छ, भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली । खासमा खेलाडीहरुले भिगन खाना किन खाइरहेका छन् भन्ने प्रश्न अधिकांशको मनमा उठ्न थालेको छ ।

खेलाडीको खानाका बारेमा विशेष जानकारी राख्ने दीक्षा छाबडाका अनुसार भिगन दुई तरिकाले अपनाउन सकिन्छ । एक, फलफूल तथा मन्द आगोमा पाकेको साथसब्जी खाने र अर्को गहुँ, मकै तथा दालसहितका खाना खाने र उच्च फ्याट भएको फलफूल एभोकाडो खाने । यी दुई तरिकाको मिश्रण पनि गर्न सकिन्छ ।

यस्तो खानाले चोट चाँडो निको बनाउन सहयोग गर्ने भएकाले पनि खेलाडीहरुले भिगन खाना अपनाउन थालेको हुन सक्ने छाबडाले बताइन् । चोट लाग्दा हाम्रो शरीर सुन्निएर रोगाणुका लागि प्रतिरोधक उत्पन्न गर्छ, जसले गर्दा शरीरमा कुनै हानी नहोस् । सामान्य चोटका लागि सुन्निनु ठीक हो, तर चोट गम्भीर छ भने सुन्निनु खतरनाक हुन्छ ।

यस्तोमा चोटग्रस्त खेलाडीले एन्टी अक्सिडेन्ट तथा भिटामिन मिल्ने खानाहरु हरियो सागसब्जी, गुलियो कम भएका फलफूल खानु पर्छ । यसलाई एन्टी इन्फ्लेमेटरी फुड पनि भन्ने गरिन्छ । यसले सुन्निनबाट रोक्छ र शरीरलाई डिटक्स गर्न सहयोग गर्छ । प्रो इन्फ्लेमेटरी फुडहरु गुलियो बढी भएका खाना, रातो मासुसहितका खानाले शरीरलाई हानी गर्छ ।

भिगन खानामा भिटामिनसँगै फाइबरको मात्रा पनि धेरै हुन्छ । यसले मोटोपन कम गर्न सहयोग गर्ने मानिन्छ । फाइबर युक्त खाना कम खाए पनि अघाइन्छ, जसबाट आवश्यक भन्दा बढी खाइँदैन ।

यस्तै जनावरबाट उत्पादित खाना नखाँदा शरीरमा प्रोटिनको मात्रा कम हुन सक्छ । खेलाडीका लागि प्रोटिन त झन आवश्यक पर्छ, यस्तोमा त्यसको भरणपोषण कसरी होला ?

पोषणविद तथा वेलनेस प्रशिक्षक अवनी कौलका अनुसार हरेक खेलाडीलाई आफ्नो खेल अनुसार र आफ्नो शरीर अनुसार आहारको आवश्यकता पर्छ । वेटलिफ्टर वा बडी बिल्डरका लागि प्रोटिन सबैभन्दा आवश्यक हुन्छ । तर दौडमा भाग लिने खेलाडीका लागि ताकतसँगै उर्जा दिने खाना पनि चाहिन्छ । यस्तोमा कार्बोहाइड्रेट बढी भएको खानाबाट प्राप्त गर्न सकिन्छ ।

खानामा सही मात्रामा प्रोटिन तथा कार्बोहाइड्रेट हुनु पर्ने उनले अवनि कौलको भनाई छ । भिगन खानाले ब्लड सुगर लेभल, कोलेस्ट्रोल लेभल कम हुन्छ । यसबाट मधुमेह रोग लाग्ने खतरा निकै कम हुन्छ ।

तर जनावरबाट उत्पादित खानाबाट मिल्ने प्रोटिनको भरपाई कसरी गर्ने ? किनकी मासु, दूध, अण्डा, माछाबाट पोजेटिभ नाइट्रोजनको कमी हुँदैन । यस्तै यस्तो खानाबाट अमिनो एसिड पनि पाइन्छ । यस्ता चिजको कमी हुन नदिनका लागि आफ्नो भिगन खानामा प्रोटिनको मात्रा कस्तो छ र त्यसलाई भिगन खानामा कसरी मिलाउन सकिन्छ भन्ने थाहा हुनु पर्छ ।

विराट कोहली जस्ता स्टार खेलाडीका लागि खानाको मात्रा तथा गुण हेर्नका लागि खाना विशेषज्ञहरु हुन्छन् तर सामान्य व्यक्तिका लागि संतुलित भिगन खाना तयार गर्न निकै मुस्किल हुन्छ ।

पछिल्लो समय पर्यावरणका लागि पनि खेलाडीहरु भिगन बनिरहेको देखिएको छ ।

स्रोत : बिबिसी हिन्दी

कात्तिक २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्