प्रहरीको दसैँ

दसैँका बेला जनताको सेवामा रमाएको मन

चित्रा कुँवर

पाेखरा – दसैँ उत्साह उमंगको पर्व। टाढिएका मनहरुलाई नजिक बनाउने गतिलो माध्यम। अग्रजबाट टीका र जमरा ग्रहण गरी रमाउने बेला कतिपयका लागि आफ्नो कर्तव्य र जिम्मेवारीको अघि त्यो गौण बनेको छ।

ती मध्येका एक हुन् नेपाल प्रहरी। जनताको शान्ति—सुरक्षामा खटिनु पर्ने आफ्नो कर्तव्य र जिम्मेवारीबाट उनीहरु टाढिन सक्दैनन् यो बेला। दसैँका दिन पारिवारिक वातावरणमा रमाउने मन भएपनि आफ्नो ‘डियुटी’ सबैभन्दा महत्वपूर्ण छ उनीहरुका लागि ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले सेवा प्रवेश गरेको २१ वर्षमा मुस्किलले ४ पटक आमाबुबाको हातबाट दसैँको टीका ग्रहण गरेका छन्। पर्वत फलेवास नगरपालिका वडा नं २ रानालाई अहिले पनि ९० वर्षीय बुबा र ८५ वर्षीय आमाको हातको टिका लगाउने साइत जुरेन ।

तर निराश छैनन् उनी। भन्छन्, ‘ शान्ति सुरक्षा कायम गर्नका लागि राज्यले सुम्पेको महत्वपूर्ण जिम्मेवारी हाम्रो काँधमा छ । सुविधालाई होइन सेवालाई प्राथमिकतामा राखेर सेवामा खटिनु हाम्रो कर्तव्य हो, यसैमा चित्त बझुाउनु   पर्छ ।’

नागरिकसँगै आफु मातहतका प्रहरीलाई पनि खुशी दिनु पर्ने थप जिम्मेवारी उनको काँधमा छ। जहाँ आफ्नो उनको आफ्नो खुशी ओझेलमा परेको छ।  खासगरी उनी दसैँमा मान्यजनको हातको टीका, बाल्यकालका साथी र घरगाउँको प्राकृतिक वातावरणलाई सम्झिने बताउँछन्। तर सम्झनाका कारण भावनामा हैन जिम्मेवारीमा काम गर्नु पर्ने उनको भनाई छ।
दसैँलाई परिवारसँग बसेर मनाउने प्रहरीलाई सायदै समय मिल्छ ।’ राना भन्छन् ‘नागरिकलाई सुरक्षित वातावरणमा बाँच्न दिनु हाम्रो पहिलो कर्तव्य हो । प्रहरीका लागि न दसैँ न तिहार न घाम न पानि । २४ सै घण्टा नागरिकको सेवामा समर्पित हुन्छौ। ’

तर जनताले शान्ति सुरक्षाको अनुभुति गर्दा उनीहरुलाई खुशी मिल्छ ।  चाडपर्वको बेला अघिपछि भन्दा चोरी, डकैति र हत्या लगायत अपराधिक क्रियाकलाप बढ्छन्। मादक पदार्थ सेवन गरेर झगडा गर्नेहरुको संख्या धेरै हुन्छ। त्यसैले यो बेला प्रहरी अझै बढी चनाखो हुनु पर्छ ।

कास्कीमा अहिले ९ सय ५२ जना प्रहरी सेवारत छन् । जम्मा १० प्रतिशले मात्रै छुट्टी पाउँछन् । नजिकै घर हुनेहरु विहान गएर टीका लगाई बेलुका फर्कन्छन्।

जिल्ला प्रहरी कार्यालय बैदामका प्रमुख नविन कार्कीको पनि यसपालि दसैँमा घर जान धोको पुरा भएन । सेवा प्रवेशको १५ वर्षमा उनले मुश्किलले आमा बुबाको हातको टिका लगाउने अवसर पाएका छन् ।

उदपुर त्रियुगा नगरपालिका वडा नं. ७ का कार्की दशै नजिकिदै गर्दा बालापनको याद र आफन्तको सम्झनाले निकै सताउने गरेको बताउँछन् । ‘दसैँ मलाई मन पर्ने पर्व हो, विशेष गरी घरमा आफन्त इष्टमित्रको जमघट हुन्छ । आत्मिय वातावरण हुन्छ । जुन अघि पछि सम्भव हुँदैन, दशैमा हाम्रो कार्कीहरु संयुक्त पुजा हुन्छ त्यो पनि मैले धेरै ‘मिस’ गर्छु ।’

व्यक्तिगत रुपमा दसैँमा टिका ग्रहण गर्न नपाउँदा नरमाइलो लागेपनि संगठनको जिम्मेवार प्रहरी अधिकृतको रुपमा भने दशै पुण्य कमाउने बेला जस्तो कार्कीको भनाई छ ।

‘अरुको खुशीका लागि साक्षी बसेर शान्ति सुरक्षा अमन चयनको प्रबन्धमा जुट्ने अवसर हामीलाई मिलेको छ । यसले बेग्लै आत्मसन्तुष्टि दिएको हुन्छ ।’ उनी थप्छन् ‘राष्ट्रसेवक भएकाले पनि मिलाएर जानु पर्ने हुन्छ । हामीनै निराश भए मातहतका प्रहरी झनै निराश हुन सक्छन् । त्यस्तो नहोस भनेर दशैको जमघट टिका ग्रहण खानपानको कार्यक्रम राखेका छौँ।’

स्याङजाका प्रहरी जवान २८ वर्षिय सुरज थापाले पनि ७ वर्ष भयो दशैको टिका लगाउन घर जान नपाएको । प्रहरी सेवा प्रवेश गरेपछि उनले बुवाको हातको टिका ग्रहण गर्ने अवसर मिलेको छैन ।

आमाको स्वर्गारोहण भइसकेको छ । बुबा, श्रीमति, दाजु भाउजु उनको पर्खाइमा हुन्छन् सधै तर अनुकुल बातावरण मिलेको छैन । थापा भन्छन् ‘हामी सुविधा भन्दा सेवामा जोड दिन्छौ, आम नागरिकको विश्वास हामी माथि हुन्छ यो बेला सबैको दशै दशा नबनोस् भनेर हामी सतर्क हुन्छौ ।’

बागलुङ वुर्तिवाङ निसीखोला गाउँपालिका १ कि चित्रा कुँवर पनि घरमा एक्ली आमाको हातबाट टिका ग्रहण गर्ने रहर यो वर्ष पनि अधुरो रहेको बताउँछिन्। ‘सेवा प्रवेशको ३ वर्ष भयो आमाको हातबाट दसैँ टीका लगाउन जुरेको छैन’ कुवँर भन्छिन ‘विदा पाउन मुस्किल हुन्छ। महिला प्रहरी कम छौ । मन्दिर र मेला महोत्सवमा खटिनु पर्छ ।’

कात्तिक २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्