कविता

यस पटकको दसैँं

मित्रबन्धु पौडेल –

नव दुर्गामा यसपटक पनि
पोहोर सालजस्तै
एकहुल वटुहरू स्वस्तीवाचन गर्ने नै छन् समवेतस्वरमा
“ओम् द्यौ शान्तिरन्तरिक्ष ग्वाम् शान्ति पृथ्वी शान्तिराप ””’ भन्दै
दुर्गास्थापना गर्दै,
यसपटक पनि घरघरमा
शंखघन्टहरू बज्ने नै छन् पोहोरसाल जस्तै
यसपटक पनि सुनिने नै छ भक्तहरूको चण्डीपाठ—
“या देवी सर्वभूतेषु शान्तिरुपेण संस्थिता”
नमनीय माताप्रति ।

पोहोरसाल जस्तै
यसपटक पनि खसीबजारमा
खसीबोकाहरू बेचिएकै छन् किनिएकै छन् ,
मानवमूल्य ह्रास भएको वर्तमानमा
वलिवेदीमा वाँधिएकै हुने छन् पशुहरू ।
भन्नेहरूले अभागी भन्लान्
तर,
यी भाग्यमानी पशुहरू
कम्तीमा,
मानिस झैं रेटिनु नपर्ने
मानिस झैं सेरिइनु नपर्ने
मानिस झैं अंगभंगपछिको पीडादायी
मृत्युवरण पनि गर्नु नपर्ने
एकप्रहार एकछ्याक्क
पीडाविहीन मृत्यु अहा कस्तो अहोभाग्य !

यसपटक पनि
आफ्नै देशमा,
दुई तिहाई बम्परमा,
महङ्गीको जाँतोमा एकपटक
नराम्ररी पिसिनुछ,
शक्तिका उन्मादी अनुहार भने
मस्तमस्त जुवामा भुल्नेनै छन्
मस्तमस्त कक्टेलमा डुब्नेनै छन्,
तर,
पर कन्चनपुरमा निर्मलाको न्यायमा
दुर्गाको रुप देखिएला नदेखिएला !
शंका लागिरहेछ ।
किन फलुजा र अवुगरिवका
नियति भोग्दैछन् गाउँहरू आप्mनै देशभित्र ?

सत्यता र विजय पनि
सापेक्षतामा हेर्नुपर्ने
यो कस्तो वर्तमान हो !
खै,
यी अपरिभाषित शब्दहरू बोकेर
कसरी पत्याऊँ ?
दशैँ त विजयको प्रतीक हो असत्यमाथि सत्यको
यसपटक पनि यहाँ शहरमा,
पवित्र सप्तसतीमा
भ्रष्टाचारको कलेबर लगाएर
चण्डीको अपव्याख्या गर्दै
दुर्गाको उपहास गर्दैछन्,
ग्रह पूर्वाग्रह जे सुकै भनून् भन्नेले
देखिएकै छ–
आसेपासेबीच
अ‍ैरेगैरेबीच
हुक्केबैठकेबीच
सत्तामातेका अनुहारहरूले
जिउँदा शहीदहरूका गुमेका हात,र
भाँचिएका हस्तीहाडहरूको सोपान बनाएर
यस पटक पनि
ह्वीलचेयर र क्रचेस्सम्म नदिई
करौडौँ मूल्यपर्ने
खै के विजया भन्नु, पराजया दशमी मनाउँदैछन्
मेरा आस्थाका दधीचिहरू साक्षी छन्
तर ती शक्तिहीन विवश र चुपचाप छन् ।
देख्दैछु,
यो आवादीलाई ढाक्दैछन् काश्यप र दितिका सन्ततिहरू
यो नयाँ सहस्राब्दीका बुख्याँचाहरू !
तर्साउदैछन् शहर गाउं र बस्तीहरू
उफ् भएनन् चण्डमुण्डहरू पराजित
भएनन् शुम्भ निशुम्भहरू पराजित

यसपटक भने पोहोर साल जस्तै
पराजयको पीडामा
विखण्डित मनहरूबीच
विचलित तनहरूबीच
कहिल्यै संझन मन नलाग्ने
बिर्सौँबिर्सौँ लाग्ने
एउटा खल्लो दसैँ,अलिनो दसैँ र,
निस्तो दसैँ मनाउन नपरोस् ।

हात्तीवन, ललितपुर

कात्तिक २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्