अन्ततः स्वीकार गर्यो

कन्सुलर कार्यालयमा भएको झडपमा पत्रकार खाशोग्गीको मृत्यु : साउदी टिभी

बेपत्ता पत्रकार जमाल खाशोग्गीको मृत्यु भएको साउदी अरेबियाले पुष्टि गरेको छ । टर्कीको स्थानबुलमा रहेको कन्सुलर कार्यालयमा भएको झडपको क्रममा पत्रकार खाशोग्गीको मृत्यु भएको साउदी अरेबियाको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

अमेरिकी पत्रिकार द वासिंगटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी अक्टोबर २ मा साउदी अरेबियाको स्थानबुलस्थित कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका थिए ।

यसअघि उनको अवस्थाका बारेमा कुनै जानकारी नरहेको बताएको साउदी अरेबियाले अन्ततः खाशोग्गीको मृत्यु भएको जनाएको हो ।

घटनामा संलग्न भएको देखिएपछि साउदी अरेबियाको गुप्तचर निकायका उप प्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई बर्खास्त गरिएको पनि साउदी टिभीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पत्रकार खाशोग्गीको अवस्था सार्वजनिक गरिनु र त्यसमा संलग्नलाई बर्खास्त गरिएको घटनाको स्वागत गरेको छ । खाशोग्गीको घटनामा हुने सबै अनुसन्धानको नजिकबाट निगरानी गर्ने पनि अमेरिकाले बताएको छ ।

मृत्यु भएको स्वीकार गरेको यो साउदी अरेबियाले पहिलो पटक हो । यसअघि टर्कीका अधिकारले खाशोग्गीको हत्या भएको बताएको थियो तर साउदी अरेबियाका राजा सलमान तथा युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानले स्पष्ट रुपमा आफूहरुलाई केही जानकारी नरहेको बताउने गरेका थिए र साउदी अरेबियाले औपचारिक रुपमा केही बोलेको थिएन ।

साउदी अरेबियाका राजा सलमानले देशको गुप्तचर सेवालाई पुनर्संरचना गर्न मन्त्रीस्तरीय कमिटि बनाउन निर्देशन दिएको पनि बताइएको छ । यो कमिटिको नेतृत्व क्राउन प्रिन्स मोहम्मदले गर्नेछन् ।

पत्रकार खाशोग्गीको सम्बन्धमा साउदीका राजा सलमानले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँग टेलिफोनमा कुराकानी गरेको केही समयपछि साउदी टेलिभिजनले पत्रकार खाशोग्गीको मृत्यु भएको खबर प्रशारित गरेको हो ।