पत्रकार खाशोग्गीको हत्या

साउदी अरेबियाका आलोचकको हत्या सम्बन्धी सत्यतथ्य बाहिर ल्याउने टर्कीको प्रतिबद्धता

टर्कीले पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा आफूहरुसँग भएका सबै जानकारीहरु सार्वजनिक गर्ने बताएको छ ।

अक्टोबर २ देखि टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पसेपछि बेपत्ता भएका पत्रकार खाशोग्गीको मृत्यु भएको साउदी अरेबियाले स्वीकार गरेपछि टर्कीले सबै जानकारी सार्वजनिक गर्ने बताएको हो ।

साउदी अरेबियाले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा भएको झडपमा मृत्यु भएको शनिबार बताएको हो । यसअघि उसले पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै जानकारी नरहेको बताउँदै आएको थियो । अमेरिकी पत्रिका द वासिंगटन पोस्टका लागि लेख्ने पत्रकार खाशोग्गी बेपत्ता भएसँगै दुई मित्र शक्ति अमेरिका तथा साउदी अरेबियाबिचको सम्बन्धमा तनाव आएको थियो ।

यहि बिचमा टर्कीले लगातार खाशोग्गीको कन्सुलर कार्यालयमै हत्या भएको र त्यसको अडियो तथा भिडियो प्रमाण आफूहरुसँग रहेको बताउँदै आएको थियो । अब उसले सबै जानकारी सार्वजनिक गर्ने भनेपछि रहेको भनिएको अडियो तथा भिडियो पनि बाहिर आउने अपेक्षा गरिएको छ ।

घटनालाई ढाकछोप हुन नदिने टर्कीको सत्तारुढ पार्टीका प्रवक्ताले बताएका छन् । अमेरिका र साउदी अरेबिया मिलेर खाशोग्गी घटनामा मध्यमार्गी बाटो निकालेर घटनाको सत्यमा ढाकछोप गर्ने प्रयास गरेको आरोप छ ।

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान

पत्रकार खाशोग्गी साउदी अरेबियाका नागरिक हुन् । उनी साउदी अरेबिया, विशेष गरी शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानमा आलोचक हुन् । त्यहि कारण उनको हत्या भएको आरोप छ । तर साउदी अरेबियाका राजा तथा क्राउन प्रिन्सले सबै कुरा ठाडै अस्वीकार गर्दै आएका छन् ।

अमेरिकी पत्रिकार द वासिंगटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी अक्टोबर २ मा साउदी अरेबियाको स्थानबुलस्थित कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका थिए ।

यसअघि उनको अवस्थाका बारेमा कुनै जानकारी नरहेको बताएको साउदी अरेबियाले अन्ततः खाशोग्गीको मृत्यु भएको जनाएको हो ।

घटनामा संलग्न भएको देखिएपछि साउदी अरेबियाको गुप्तचर निकायका उप प्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई बर्खास्त गरिएको पनि साउदी टिभीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पत्रकार खाशोग्गीको अवस्था सार्वजनिक गरिनु र त्यसमा संलग्नलाई बर्खास्त गरिएको घटनाको स्वागत गरेको छ । खाशोग्गीको घटनामा हुने सबै अनुसन्धानको नजिकबाट निगरानी गर्ने पनि अमेरिकाले बताएको छ ।

टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालय

मृत्यु भएको स्वीकार गरेको यो साउदी अरेबियाले पहिलो पटक हो । यसअघि टर्कीका अधिकारले खाशोग्गीको हत्या भएको बताएको थियो तर साउदी अरेबियाका राजा सलमान तथा युवराज ९क्राउन प्रिन्स० मोहम्मद बिन सलमानले स्पष्ट रुपमा आफूहरुलाई केही जानकारी नरहेको बताउने गरेका थिए र साउदी अरेबियाले औपचारिक रुपमा केही बोलेको थिएन ।

साउदी अरेबियाका राजा सलमानले देशको गुप्तचर सेवालाई पुनर्संरचना गर्न मन्त्रीस्तरीय कमिटि बनाउन निर्देशन दिएको पनि बताइएको छ । यो कमिटिको नेतृत्व क्राउन प्रिन्स मोहम्मदले गर्नेछन् ।

पत्रकार खाशोग्गीको सम्बन्धमा साउदीका राजा सलमानले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँग टेलिफोनमा कुराकानी गरेको केही समयपछि साउदी टेलिभिजनले पत्रकार खाशोग्गीको मृत्यु भएको खबर प्रशारित गरेको हो ।

कात्तिक ३, २०७५ मा प्रकाशित