पत्रकार जमाल खाशोग्गीको मृत्यु प्रकरण

घटनाका विविध मोडहरु, साउदी अरेबियाको भनाईबाट असन्तुष्ट ट्रम्प

अन्ततः बेपत्ता भएको झण्डै तीन हप्तापछि साउदी अरेबियाले पत्रकार जमाल खाशोग्गीको मृत्यु भएको स्वीकार गर्यो । तर उसले खाशोग्गीको सम्भावित हत्यालाई टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा भएको झडपको क्रममा भएको मृत्युको रुपमा चित्रित गर्यो ।

पत्रकार खाशोग्गी बेपत्ता भएपछि र टर्कीका अधिकारले उनको साउदी कन्सुलर कार्यालयमै हत्या भएको प्रमाण आफूहरुसँग रहेको बताएपछि साउदीमाथि कडा रुपमा प्रस्तुत भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाक्रम विकास हुँदै जाँदा बोली फेर्दै गए ।

साउदी अरेबियाका राजा सलमानसँगको टेलिफोन कुराकानीपछि ट्रम्प नरम रुपमा प्रस्तुत हुन थाले । यसले अमेरिका र साउदी अरेबिया मिलेर पत्रकार खाशोग्गीको मृत्यु (स्वीकार नगरिएको हत्या) प्रकरणको ढाकछोपमा लागेको आरोप लाग्यो ।

घटनाक्रम विकास हुँदै जाँदा ट्रम्पका प्रतिनिधि बनेर विदेश मन्त्री माइक पोम्पेओ साउदी अरेबिया गए । त्यहाँ उनले राजा सलमान र खाशोग्गीले कडा आलोचना गर्ने गरेका तथा उनको बेपत्ता प्रकरणमा हात रहेको भनिएका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानसँग भेटवार्ता गरे ।

त्यसपछि उनी पत्रकार खाशोग्गी बेपत्ता भएको टर्की पुगे । स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा अक्टोबर २ मा पसेपछि खाशोग्गी बेपत्ता भएका थिए ।

विभिन्न मोड हुँदै गुज्रिएको घटनाक्रममा साउदी अरेबियाले शनिबार सबेरै मौनता तोड्यो । साउदीका राजा सलमानले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँग टेलिफोनमा कुराकानी गरेपछि साउदीको सरकारी टेलिभिजनले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा भएको झडपको क्रममा मृत्यु भएको खबर प्रशारण गर्यो । हत्यालाई झडपको क्रममा भएको मृत्युको रुपमा प्रस्तुत गरिएको आरोप लाग्यो साउदी अरेबियामाथि ।

वास्तविकता ढाकछोपमा अमेरिका र विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि संलग्नता रहेको आरोप लागिरहेको छ । यहि बिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार खाशोग्गीका बारेमा साउदी अरेबियाले भनेको कुराबाट आफू त्यति सन्तुष्ट नभएको बताएका छन् ।

कन्सुलर कार्यालयमा भएको मुक्केबाजी (मुक्का हानाहान) मा पत्रकार खाशोग्गीको मृत्यु भएको भन्ने साउदी अरेबियाको भनाईबाट आफू सन्तुष्ट हुन नसकेको ट्रम्पले बताएका छन् ।

टर्कीका अधिकारीले खाशोग्गीको हत्या भएको उनको शरीर नष्ट गरिएको बताउने गरेका छन् । ट्रम्पले भनेका छन्, ‘हामीले उत्तर पाएका छौँ तर म सन्तुष्ट हुन सकेको छैन । यो घटनाले उनीहरु (साउदी अरेबिया) लाई भन्दा हामीलाई बढी दुःखी बनाएको छ ।’

ट्रम्पले साउदी अरेबियामाथि केही प्रतिबन्ध लाग्न सक्ने सम्भावना रहेको संकेत दिए तर हुने भनिएको सैन्य सहयोग सम्बन्धी सम्झौतालाई भने यसले असर गर्ने छैन । अमेरिका र साउदी अरेबिया नजिकका मित्र हुन् र व्यवसायिक सहयात्री पनि ।

ट्रम्पले सन्तुष्ट नरहेको बताए पनि साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्सलाई यो घटनाबारे थाहा नभएको हुन सक्ने सम्भावना रहेको बताए ।

टर्कीले पत्रकार खाशोग्गीको मृत्युका सम्बन्धमा आफूहरुसँग भएका सबै प्रमाण तथा जानकारीहरु सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।

टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालय

उसले साउदी कन्सुलर कार्यालयमा खाशोग्गीको हत्या भएको र त्यसको अडियो तथा भिडियो प्रमाण आफूसँग रहेको बताउने गरेको छ । यस्तै कन्सुलर कार्यालयमा गरिएको खोजीको क्रममा पनि केही प्रमाणहरु भेटिएको टर्कीका अधिकारीहरुको भनाई छ ।

साउदी अरेबियाले कन्सुलर कार्यालयमा पत्रकार खाशोग्गी र उनले भेटेका व्यक्तिबिच झडप भएको र त्यहि क्रममा उनको मृत्यु भएको बताउने गरेको छ । घटनाको अनुसन्धान जारी रहेको र अहिलेसम्म १८ जना साउदी अधिकारी पक्राउ परेको साउदी अरेबियाले जनाएको छ ।

पत्रकार खाशोग्गीको मृत्युपछि उनको शरीर व्यवस्थापन गर्न स्थानीय सहयोगीलाई दिइएको र उनीहरुले शव कहाँ लगेर के गर्ने भन्ने थाहा नभएको एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएको भन्दै समाचार संस्था रोयटर्स र अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले खबर छापेका छन् ।

घटनामा संलग्न भएको देखिएपछि साउदी अरेबियाको गुप्तचर निकायका उप प्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई बर्खास्त गरिएको पनि साउदी टिभीले जनाएको छ ।

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान

साउदी अरेबियाका राजा सलमानले देशको गुप्तचर सेवालाई पुनर्संरचना गर्न मन्त्रीस्तरीय कमिटि बनाउन निर्देशन दिएको पनि बताइएको छ । यो कमिटिको नेतृत्व क्राउन प्रिन्स मोहम्मदले गर्नेछन् ।

पत्रकार खाशोग्गीको मृत्युको घटनाको बेलायत, जर्मनी, क्यानडा, फ्रान्स, अमेरिकी सांसदहरुले आलोचना गर्दै आएका छन् ।

कात्तिक ४, २०७५ मा प्रकाशित