आमाले लत्याएर के भो, माया गरेर हुर्काउने अर्कै प्रजातिको तर वास्तविक भन्दा पनि माया गर्ने आमा भेटिइन् । सन् २०१४ मा श्रीलंकाको चिडिया खानामा जन्मिएपछि सिंहको बच्चालाई उसको आमाले स्वीकार गरिनन् ।

चिडियाखानाका कर्मचारीहरुले आमाले लत्याएको सिंहको बच्चाका लागि उपयुक्त हुने परिवारको खोजी गरे । उनीहरुले सम्भावित परिवारको रुपमा देखे भर्खरै बच्चा जन्माएको कुकुरमा । सुरुमा आमा कुकुरले स्वीकार गर्न हिचकिचाएको उनका मालिक हेशान मेन्डिसले बताए ।

उनले भने, ‘तर ५/६ घण्टापछि उसको (आमा कुकर) व्यवहार परिवर्तन भयो । त्यसपछि आफ्नै बच्चाहरुलाई जस्तै व्यवहार थालिन् । उनले सिंहको बच्चालाई चाट्न थालिन् । र आफ्ना बच्चाहरुलाई भन्दा ज्यादा माया गर्न थालिन् ।’

बिबिसीले सेयर गरेको भिडियोमा आमा कुकुरले आफ्ना जैविक बच्चाहरुसँगै अपनाएको सिंहको बच्चालाई दूध चुसाएको पनि देखिएको छ ।

उनले सिंहको बच्चालाई तीन हप्तासम्म दूध चुसाइन् । बच्चा सिंह आफ्ना नयाँ दाजुभाइहरुसँग खेलेको देखियो । सिंहको बच्चा हुर्किँदै गएपछि उसलाई चिडियाखानामा पुनर्स्थापित गरियो ।

अहिले कुकुर आमाले हुर्काएको सिंह पूर्ण वयश्क सिंह बनेको छ ।

उसले मेन्डिसको घरमा बिताएको समय सायद भुल्यो होला । तर आफ्नो परिवारलाई भने भुलेको छैन । अहिले पनि सिंहले मेन्डिसलाई चिन्छ । मेन्डिस बेलाबेलामा उसलाई हेर्न चिडियाखाना जान्छन् । उ लुट्पुटिन्छ ।

सिंहले विभिन्न कारणले आफ्ना बच्चालाई अस्वीकार गर्ने गरेको भेजिटेरियनले जनाएको छ । दूध नपुग्ने, बलिया बच्चालाई रोज्नुसहितका विविध कारणले बच्चाहरु अस्वीकार गर्ने गरेको बताइन्छ ।

तर आमाको मायाको कुनै सीमा हुँदैन । आफ्नै आमाबाट अस्वीकृत भएको सिंहलाई कुकुर आमाले आफ्नै सन्तान जसरी हुर्काइन् ।