नवलपुरमा गम्भीर दुर्घटना (अपडेट) : मृत्यु भएका सबै ६ जनाको सनाखत

काठमाडौँ – नवलपरासी पूर्व (नवलपुर) मा बस दुर्घटना हुँदा गुमाएका सबै ६ जनाको सनाखत भएको छ । आइतबार बिहानै भएको दुर्घटनामा ५७ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार बिहान ५ बजे हुँदा ज्यान गुमाउनेमा भारत उत्तर प्रदेश गोरखपुरका ५५ वर्षका दीपक पासवान, भारत बिहारका विद्यानन्द यादव तथा सुनसरीको कोशी गाउँपालिका ३ का अब्दुल अन्सारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै भोजपुरका रामजित राई र मोरङका ११ वर्षे सुहम कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । यसैगरी उपचारको क्रममा गुल्मीको हस्तीचउरका ३५ वर्षे तिलक विष्टको ज्यान गएको छ । विष्ट नेपाली सेनामा कार्यरत थिए ।

घटनामा घाइते भएका ५७ जना मध्ये ४१ जनालाई उपचारका लागि भरतपुर लगिएको छ । अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बिहान गाडी आफै अनियन्त्रित भइ सडकबाट तल खसेको हो ।

बसमा क्षमता भन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको बताइएको छ । बसका चालक निदाएकाले अनियन्त्रित भएर पल्टिएको पनि प्रहरीले जनाएको छ ।

कात्तिक ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्