प्यूठानकाे दसैं मेला

रमाइलोसँगै आम्दानीको मुख्य कडी

दाङ– जाडो बढिसकेछ । साँझ नपर्दै सिरेटोले हान्यो, खासगरी झिमरुकको फाँटमा। बादल खेलिरहेको थियो आकाशमा, पानी पर्ने हो की भन्ने चिन्ता भयो मनमा। बिहान कुहिरो छिचोल्दै घाम झुल्किदै गयो।

त्यसले दसैं मौसमको संकेत गर्‍याे । मन चंगा भयो । पहाडी भेगको प्यूठान जिल्ला। दाङको भालुबाङ हुँदै पक्कि बाटोको यात्रापछि प्यूठानको दर्शन मिल्छ। स्वर्गद्धारीको तपोभुमि। स्वर्गद्धारीले यस क्षेत्रको विशेषता बढाएको छ।

घटस्थापनाबाट ऐरावती गाउँपालिका वडा नं. २ निवासी सुरज थापा दंग छन्। गाउँमा जेरीको पसल थापेका छन्, उनले । आम्दानी र रमाइलो दुवैका लागि । जेरी पसलले धानेको छ उनको जिविका। दसैँको भोलीपल्ट अर्थात एकादशीको दिनदेखि चहलपहल बढ्ने मेलामा खपत हुन्छ धेरैजसो जेरी ।

छरिएको बस्ती छ । सबै एकै ठाउँमा जम्मा हुन मेला कुर्नै पर्छ । मेला सुरु भएपछि खुशी हुँदै बधाई दिन्छन् उनीहरु एकअर्कामा ।  लामो समय भेट नभएका आफन्तको पुनर्मिलन हुन्छ अर्थात मेलाले जोड्छ उनीहरुको भेट। गाउँभरी उत्पादन भएको घरेलु बस्तुहरु मेला सम्म पुर्‍ याउँछन् हतारहतार । मेलामा पाइने नयाँ सामानहरु किनेर लैजान्छन् । दसैँमा नयाँ लगाउने र मिठो खाने धोको पुरा हुन्छ।

थापा मेलामा व्यवसायि बनेर जाने सुरमा छन्। ‘जेरीको पसल छ । अरु केटाहरुलाई पनि लैजान्छु र कारोबारमा लगाउँछु’ उनले भने–‘मेलामा खुब बिक्री हुन्छ जेरी, चाउमिन र मासुचिउरा ।’

घटस्थापनाको दिनदेखि सुरु भएको चहलपहल पूर्णिमासम्म रहन्छ । विजुली कोट, चौरपानी, जावुने, द्वारेघाट, जुम्री, टिकुरीमा मेला लाग्छ । देवीको मन्दिरहरुले सुन्दरता बढाएको छ यो ठाउँको । दसैँको पूर्णीमाको दिन चौरपानीमा सरायँका लागि सयौँ गाउँले भेला हुन्छन्।

गाउँका युवा र बुढा पाकाले नै मेलामा अगुवाई गर्छन् । मेला भर्न टाढा टाढा बाट आउँछन् स्थानीयबासी अनि सरायँ निस्कन्छ। ‘बाउ, बाजेले सराँय खेलेको देख्यौं । त्यही अनुसार हामिले सिक्यौं । हरेक वर्ष पूर्णिमाको दिन सराँय निकाल्दै आएका छौं’ चौरपानी निवासी विष्णु पौडेलले भने–‘टाढा टाढा गएका साथिहरु पनि मेलाको लागि भनेर गाउँ आउने हुँदा भेट हुन्छ ।

गाउँमा लाग्ने मेलाले धेरैको मिलन गराउँछ ।’ पहाडि जिल्लाहरुमा चाड पर्वको मेलामा ठुलै मेला आयोजना गर्ने चलन छ । प्रदेश पाँचको प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पामा लगायतका जिल्लामा मेला लाग्दै आएको छ । गाउँको बिचमा रहेको ठुलो चौरमा लाग्ने मेलाकै लागि भनेर गाउँ आउनेहरु धेरै छन् । युवा क्लव, मन्दिर व्यवस्थापन समितिको नाममा यस्ता मेला आयोजना गर्ने गरिन्छ ।

कात्तिक ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्