निर्मला हत्याकाण्ड

प्रमाण नष्टको आरोपित एसपी विष्ट र इन्सपेक्टर भट्टसँग सरकारले माग्यो स्पष्टीकरण

डिल्लीराज बिष्ट

काठमाडौँ—निर्मला पन्तको बलात्कार र हत्याको प्रमाण नष्ट गरेको आरोप लागेका कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदशी भट्टसँग सरकारले स्पष्टीकरण मागेको छ।

दसैँ बिदा समाप्त भएसँगै कार्यालय खुलेको दिन आइतबार नै गृहमन्त्रालयले विष्ट र भट्टसँग स्पष्टीकरण मागिएको गृहसचिव प्रेमकुमार राईले देशसञ्चारलाई जानकारी दिए।

राईकाअनुसार घटनाका आरोपितले २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ र प्रमाणका आधारमा सफाई दिनु पर्नेछ । त्यसपछि पनि उनीहरुलाई सफाईका लागि २४ घण्टाको दोस्रो मौका दिइने छ।

त्यतिबेला सम्म पनि आरोपितहरुबाट चित्तबुझ्दो जवाफ नआए सरकारले उनीहरुलाई बर्खास्त गर्नेछ। गृहसचिवको अध्यक्षतामा समिति गठन गरि उनीहरुलाई बर्खास्त गरिने छ ।

त्यसका लागि कम्तीमा सात दिन लाग्ने छ । कञ्चनपुरकी १३ वर्षीय किशोरी पन्तको बलात्कार र हत्या भएको लामो समय वितिसक्दा पनि हत्यारा पहिचान गर्न सरकार असफल भएको र त्यसको प्रमाण नष्ट गर्ने विष्ट तथा भट्टलाई कारवाही नगरेको भन्दै व्यापक आलोचना भएको थियो।

घटनाको छानबिनका क्रममा प्रमाण नष्ट गरेको र आन्दालन दबाउन भूमिका खेलेको भन्दै प्रहरी प्रधान कार्यालयले असोज २९ गते विष्ट र भट्टलाई बर्खास्त गर्न गहृमन्त्रालयलाई सिफारिस गरेको थियो। उक्त सिफारिसका आधारमा गृहमन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएको गृहसचिव राईले बताए।

गत साउन १० गते अध्ययनका लागि साथीको घरमा पुगेकी पन्तलाई बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलीपल्ट फेला पारिएको थियो। उखुबारीमा विभत्स अवस्थामा भेटिएकी पन्तको बलात्कार तथा हत्याको प्रमाण अनुसन्धानका लागि खटिएका प्रहरी स्वयम्ले नष्ट गरेको आरोप लागेको छ।

दुई वटा उच्चस्तरी समिति र थुर्पै प्रहरीहरुले घटनाको अनुसन्धान गर्दा पनि निर्मलाको बलात्कार तथा हत्यामा संलग्न भएकाहरुलाई नियन्त्रणमा लिन नसकेपछि प्रमाण नष्ट गर्ने प्रहरीलाई नै कारवाही गर्नु पर्ने आवाज उठेको थियो।

त्यसलाई गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितिले पुष्टी समेत गरेको थियो । त्यसैका आधाारमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विष्ट र भट्टलाई बर्खास्तीका लागि गृहमन्त्रालयमा पत्राचार गरेका थिए।

कार्तिक ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू