पत्रकार जमाल खाशोग्गी घटनामा नयाँ मोड

साउदी अरेबियाको अर्को बयान, खाशोग्गीको हत्या भएको स्वीकार

साउदी अरेबियाले पत्रकार जमाल खाशोग्गीको हत्या भएको बताएको छ । यसअघि शुक्रबार अबेर खाशोग्गीको मृत्यु भएको बताएको साउदी अरेबियाले अहिले आएर उनको हत्या भएको स्वीकार गरेको छ ।

टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा अक्टोबर २ मा पसेपछि बेपत्ता भएका खाशोग्गीको हत्या भएको भन्दै विश्वव्यापी रुपमा विरोध भइरहे पनि साउदी अरेबियाले झण्डै तीन हप्ता नै उनको अवस्थाका बारेमा कुनै जानकारी नरहेको बताउँदै आयो ।

घटनाले राजनीतिक तथा कूटनीतिक सम्बन्धमा प्रभाव पार्न थालेपछि त्यसको ‘सेफ ल्याण्डिङ्ग’ रुपमा साउदी अरेबियाले उनको कन्सुलर कार्यालयमा भएको मुक्केबाजी (मुक्का हानाहान) को क्रममा पत्रकार खाशोग्गीको मृत्यु भएको बतायो ।

तर उसको यो भनाईमा विश्वास गर्ने सायदै कोही थिए । यहाँसम्म कि घटनाको ढाकछोपमा साउदी अरेबियालाई साथ दिएको आरोप लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसमा विश्वास गरेको देखिएन ।

विविध ‘ट्वीस्ट’ हुँदै आएको पत्रकार खाशोग्गीको हत्या प्रकणमा अन्ततः साउदीले उनको हत्या भएको स्वीकार गरेको हो । साउदी अरेबियाले पत्रकार खाशोग्गीको हत्यामा खराब नियत भएका एजेन्ट अर्थात ‘दुष्ट एजेन्ट’ हरुको संलग्नता रहेको बताएको छ ।

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान

साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेरले फक्स न्युजसँग पत्रकार खाशोग्गीको हत्या ‘गम्भीर गल्ति’ रहेको बताएका छन् । तर यसका लागि देशका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानले आदेश दिएको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताएका छन् ।

यसमा शक्तिशाली क्राउन प्रिन्स सलमानको कुनै संलग्नता नरहेको विदेश मन्त्री अल–जुबेरले बताएका छन् । साउदी अरेबियामाथि पत्रकार खाशोग्गी घटनाका स्पष्ट विवरण सार्वजनिक गर्न दबाब बढेको छ ।

टर्कीका अधिकारले स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयका एजेन्टहरुले नै खाशोग्गीको हत्या गरेको बताउने गरेका छन् ।

साउदी अरेबियाले सुरुमा खाशोग्गी कन्सुलर कार्यालयबाट बाहिरिएको बताएको साउदी अरेबियाले शुक्रबार अबेर पहिलो पटक उनको मृत्यु भएको स्वीकार गरेको थियो र त्यसको कारण मुक्का हानाहान रहेको बताएको थियो । अहिले उसले दुष्ट एजेन्टहरुले खाशोग्गीको हत्या गरेको बताएको हो ।

साउदीले पछिल्लो पटक के भन्यो ?


साउदीका विदेश मन्त्री अल–जुबेरले घटनालाई हत्याको रुपमा बताएका हुन् । उनले भनेका छन्, ‘हामी सबै तथ्य पत्तालगाउन प्रतिबद्ध छौँ । र हत्यामा संलग्नलाई कारवाही गर्नका लागि पनि प्रतिबद्ध छौँ ।’

उनले थपे, ‘जसले यो घटना घटाए त्यो उनीहरुको अधिकार वा क्षेत्राधीकार भन्दा बाहिरको कुरा हो । यो पक्कै पनि गम्भीर गल्ति भएको छ, र यसलाई ढाकछोप गर्न खोग्नु पनि गल्ति हो ।’

खाशोग्गीको शरीर कहाँ छ भन्ने बारे आफूहरुलाई थाहा नभएको उनले बताए । उनले जोड दिएर भने, ‘यो घटनामा कुनै पनि रुपले क्राउन प्रिन्स मोहम्मद बिन सलमानको हात छैन । उहाँले यसका लागि निर्देश दिनुभएको छैन ।’

अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरिएको साउदी अरेबियाले बताएको छ । यस्तै क्राउन प्रिन्सका दुई सल्लाहकारलाई बर्खास्त पनि गरिएको छ ।

टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालय

घटनामा संलग्न भएको देखिएपछि साउदी अरेबियाको गुप्तचर निकायका उप प्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई बर्खास्त गरिएको हो ।

साउदी अरेबियाका राजा सलमानले देशको गुप्तचर सेवालाई पुनर्संरचना गर्न मन्त्रीस्तरीय कमिटि बनाउन निर्देशन दिएका छन् । यो कमिटिको नेतृत्व क्राउन प्रिन्स मोहम्मदले गर्नेछन् ।

अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका नागरिक हुन् । उनी साउदी अरेबिया, विशेष गरी शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानमा आलोचक हुन् । त्यहि कारण उनको हत्या भएको आरोप छ । अन्तर्राष्ट्रिय समुदायले घटनाको आलोचना गरेका छन् ।

कात्तिक ५, २०७५ मा प्रकाशित