बेपत्ता हुँदै साउदी अरेबियाका आलोचकहरु

राजपरिवारका सदस्यकै लागि असुरक्षित देश !

साउदी अरेबिया अहिले विश्वभरका सञ्चारमाध्यम र राजनीतिक तथा कूटनीतिक चर्चाको केन्द्रमा छ । साउदी अरेबियाका कडा आलोचक पत्रकार जमाल खाशोग्गी बेपत्ता भएपछि यो चर्चा चुलिएको हो ।

अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा साउदी अरेबियाका शासकको कडा आलोचना गरी लेख्दै आएका पत्रकार खाशोग्गी अक्टोबर २ मा टर्कीेको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता थिए ।

उनको हत्या भएको आरोप लागे पनि अस्वीकार गर्दै आएको साउदी अरेबियाले गएको शुक्रबार अबेर उनको मृत्यु भएको बतायो र आइतबार अबेर अर्को बयानमा उनको हत्या भएको स्वीकार गरेको छ ।

खाशोग्गी विशेष गरी अहिले साउदी अरेबियामा परिवर्तनको पक्षमा विभिन्न सुधारात्मक काम गर्दै आएको भनिएका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानका आलोचक हुन् । यहि कारण उनी बेपत्ता पारिएको र हत्या भएको आरोप छ । खाशोग्गी पहिलो व्यक्ति होइनन्, जो साउदी शासकको आलोचना गरे र बेपत्ता पारिए ।

साउदी अरेबियाको आलोचना गर्ने पत्रकार मात्र नभई त्यहाँको राजपरिवारका सदस्य नै सुरक्षित छैनन् । अहिलेका शासकको आलोचना गर्ने साउदी राजकुमारहरु नै बेपत्ता हुँदै आएका छन् । यसमा प्रमुख तीन नाम हुन् प्रिन्स सुल्तान बिन तुर्की, प्रिन्स तुर्की बिन बान्दर र प्रिन्स साउद बिन सैफ ।

प्रिन्स सुल्तान बिन तुर्की सन् २०१६ को जनवरीदेखि बेपत्ता छन् । जनवरी २०१६ मा निजी जेटमार्फत कायरो जान लाग्दा उनको जेट साउदी अधिकारीले अपहरण गरी रियाद लगे । प्रिन्स सुल्तान त्यसयता सार्वजनिक रुपमा देखिएका छैनन् । उनी अहिलेको साउदी शासकका आलोचक थिए ।

यस्तै सन् २०१५ देखि बेपत्ता रहेका प्रिन्स तुर्की बिन बान्दर पनि साउदीका आलोचक थिए । यसगरी प्रिन्स साउद बिन सैफले २०१४ देखि राजपरिवारको आलोचना गर्न लागेका थिए ।

उनले २०१५ को सेप्टेम्बरमा साउदी राजा सलामानलाई बर्खास्त गर्न माग गर्दै खुला पत्र लेखे । त्यसको केही दिनदेखि उनी बेपत्ता छन् । साउदीका शासकको आलोचना गर्ने राजपरिवारका सदस्य नै सुरक्षित नरहेको यी घटनाले देखाएको छ ।

साउदीको अहिलेका शासकका अर्का आलोचक हुन् खालिद बिन फरहान । उनी अहिले जर्मनीमा शरण लिएर बसेका छन् । उनले साउदीको राजनीतिक व्यवस्था थप निरंकुश बन्दै गएको आरोप लगाएका छन् । सत्ताको आलोचना गर्न सक्ने सम्भावना रहेको ठानिएका ९९ प्रतिशतलाई पक्राउ गरिएको प्रिन्स खालिदले बताए ।

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान

साउदी अरेबियामा क्राउन प्रिन्स मोहम्मद बिन सलमान शक्तिशाली बनेपछि उनले आफ्ना आलोचकलाई पक्राउ गर्न थालेको आरोप छ । अहिले हत्या गरिएका पत्रकार खाशोग्गीले उनको यो कार्यको आलोचना गर्दै द वासिंगटन पोस्टमा लेख्ने गरेका थिए ।

स्रोत : बिबिसी, रोयटर्स र द वासिंगटन पोस्ट

कात्तिक ५, २०७५ मा प्रकाशित