निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण

बर्खास्तका लागि स्पष्टिकरण सोधिएका एसपी विष्ट : मैले पत्र पाएको छैन

डिल्लीराज बिष्ट

काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनको क्रममा गम्भीर लापरवाही गरेको लागेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीरजा विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्ने प्रक्रिया सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालयले असोज २९ गते एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई बर्खास्त गर्न सिफारिससहितको पत्र गृह मन्त्रालयमा पठाएको थियो ।

सिफारिसमा गृह मन्त्रालयले आइतबार छलफल गरी विष्ट र भट्टसँग बर्खास्त गर्नु नपर्ने कारण प्रमाणसहित २४ घण्टा भित्र पेश गर्न भन्दै स्पष्टिकरण सोधेको छ ।

गृह सचिव प्रेमकुमार राईले सोधेको स्पष्टिकरण पत्रमा निर्मला पन्त प्रकरणको छानबिनको क्रममा भएको गम्भीर लापरवाहीका लागि सेवाबाट किन बर्खास्त नगर्ने भन्ने उल्लेख रहेको छ ।

तर स्पष्टिकरण त्यो पनि २४ घण्टा भित्र पेश गर्नु पर्ने भए पनि अहिले निलम्बनमा रहेको एसपी विष्टले आफूले पत्र प्राप्त नगरेको बताएका छन् ।

देश सञ्चारले सोमबार बिहान ९ बजेतिर सम्पर्क गर्दा एसपी विष्टले भने, ‘अहिलेसम्म मैले त्यस्तो कुनै पत्र पाएको छैन । म काठमाडौँमा नै छु तर स्पष्टिकरण सोधिएको पत्र अहिलेसम्म प्राप्त भएको छैन ।’

उनले स्पष्टिकरण स्पष्ट रुपमा दिने पनि बताएका छन् । तर त्यसका लागि पहिले पत्र प्राप्त हुनु पर्ने विष्टले बताए ।

कात्तिक ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्