अवस्था सामान्य बन्दै

कृष्णनगरमा लागेको अनिश्चितकालीन कर्फ्यू चार घण्टाका लागि हट्यो

काठमाडौँ – माता दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा भएको विवादले झडपको रुप लिएपछि अवस्था नियन्त्रणमा लिन कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू चार घण्टाका लागि हटेको छ ।

कृष्णनगरमा लागेको कर्फ्यू बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले देश सञ्चारलाई जानकारी दिए । प्रशासनले आइतबार बेलुकादेखि लागेको अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।

सीमा नाका पनि भएको र सामान्य नागरिकको दैनिकीमा असर नपरोस् भनेर केही घण्टाका लागि कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । दिउँसो १२ बजेपछि के गर्ने भन्ने बारे सुरक्षा अवस्था हेरेर निर्णय गरिने उनले बताए ।

अवस्थाको मूल्यांकन गरेर कर्फ्यू हटाउने वा के गर्ने भन्ने विषयमा निर्णय लिइने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले देश सञ्चारलाई जानकारी दिए । स्थानीय तहसँग पनि यसबारे समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (क) अनुसार कृष्णनगरबाट उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल–भारत दशगजा क्षेत्रमा कर्फ्यू जारी गरेको थियो ।

कात्तिक ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्