निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण

एसपी विष्ट र इन्स्पेक्टर भट्टसँग स्पष्टिकरण माग गरिएको पत्र नै अलपत्र !

काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनमा गम्भीर लापरवाही गरेको आरोप लागेका दुई प्रहरी अधिकारसँग बर्खास्त किन गर्नु नपर्ने भनि स्पष्टिकरण माग गरी गृह मन्त्रालयले काटेको पत्र सम्बन्धित व्यक्तिले पाए नपाएको वा लिएन नलिएको बारे नै अन्यौल देखिएको छ ।

प्रहरी प्रधान कार्यालयले गएको असोज २९ गते कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट तथा प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्न सिफारिससहितको पत्र गृह मन्त्रालयलमा पठाएको थियो ।

त्यहि सिफारिसको आधारमा गृह मन्त्रालयले आइतबार एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई २४ घण्टा भित्र प्रमाणसहित स्पष्टिकरण पेश गर्नका लागि पत्र काटेको थियो ।

आफूहरुले विष्ट र भट्टका नाममा काटिएको पत्र सम्बन्धित व्यक्तिलाई दिनु भनि प्रहरी प्रधान कार्यालयमा पठाएको गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए ।

तर त्यो पत्र सम्बन्धि व्यक्ति अर्थात एसपी विष्ट र निरीक्षक भट्टलाई थमाइएको वा नथमाईको बारे थाहा नभएको सचिव राईले बताए । सोमबार अबेरसम्म पत्रको केही जवाफ मन्त्रालयमा नआएको गृह मन्त्रालयका प्रवक्ता तथा सह सचिव रामकृष्ण सुवेदीले बताए ।

यस्तै नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाले स्पष्टिकरणको पत्र बारे आफूलाई जानकारी नरहेको बताए । उनले भने, ‘म अहिले बिदामा छु, उहाँहरु (एसपी विष्ट र निरीक्षक भट्ट) लाई थमाउनु भनि प्रहरी प्रधान कार्यालयमा पत्र आएको बारे मलाई जानकारी छैन ।’

देश सञ्चारसँगको कुराकानीमा सोमबार बिहान स्पष्टिकरण सोधिएका एसपी विष्टले आफूले पत्र नपाएको दाबी गरेका थिए । उनले त्यो बेला पत्र आएमा आफू स्पष्ट रुपमा स्पष्टिकरण दिन तयार रहेको पनि दाबी गरेका थिए । तर सोमबार बेलुका पत्र पाए नपाएको बारे बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

गृह सचिव राईका अनुसार यसमा कि सम्बन्धित व्यक्तिसम्म पत्र नलगिएको वा ती व्यक्तिहरु पत्र बुझ्न अस्वीकार गरी भागेको हुन सक्ने बताए ।

पत्र सम्बन्धित व्यक्तिलाई दिनु भनि पठाउने गृह मन्त्रालय, पत्र सम्बन्धित व्यक्तिलाई बुझाउने जिम्मा पाएको प्रहरी प्रधान कार्यालय तथा सम्बन्धित दुई व्यक्ति मध्येका एसपी विष्टसँग पत्रबारे बुझ्न गरिएको प्रयासको क्रममा स्पष्टिकरण पेश गर्नु पर्ने भनि तोकिएको झण्डै २४ घण्टासम्म पनि पत्र नै अलपत्र अवस्थामा रहेको देखिएको छ ।

कार्तिक ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू