फेरि पनि जिते ओलीले नै

नेकपाका शीर्ष नेताहरु खनिए एकअर्का विरुद्ध

फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तीव्र आलोचना र पार्टीका वरिष्ठा नेता माधव नेपालको असन्तुष्टिलाई भविष्यमा गम्भीरताका साथ लिने प्रतिबद्धतासहित दुई दिने सचिवालय बैठक समाप्त भएको छ ।

अध्यक्ष द्वय ओली र दाहालबिच चर्को आरोपप्रत्यारोप भएको बैठकमा सहभागी स्रोतले जनाएको छ । खासगरी काठमाडौँका ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराउन पेश गरिएको अनुमति पत्र र उप चुनाव मार्फत वामदेव गौतामलाई संसदमा भित्र्याउने खेलमा आफूलाई षडयन्त्रकारीको रुपमा प्रस्तुत गरिएको भन्दै दाहालले आक्रोस व्यक्त गरेपछि ओलीले त्यसमा सफाई दिएका थिए ।

पहिलो दिनको बैठक आरोप प्रत्यारोपको छायामा परेपछि दोस्रो दिनको बैठक निष्कर्ष बिहीन नहोस् भन्ने सुनिश्चित गर्न दुई अध्यक्ष विच आइतबारको बैठक भन्दा सोमबारको बैठक एजेण्डा केन्द्रित बनेको थियो ।

खासगरी माधव नेपालले पार्टी सचिवालयमा दर्ता गरेको असन्तुष्टि पत्र र साउनमा नारायणकाजी श्रेष्ठले प्रवक्ताको भूमिकाबाट अलगिन दिएको राजीनामाबारे छलफल भएको थियो ।

त्यसको पुष्टि श्रेष्ठले सार्वजनिक रुपमा समेत गरेका छन् । बैठक समाप्त भए लगत्तै श्रेष्ठले पत्रकारसँग कुरा गर्दै आफ्नो राजीनामालाई अस्वीकार गरेकाले त्यहि पदमा आफू यथावत रहने बताए । तर आन्तरिक छलफल र आरोप प्रत्यारोप बारे सोधिँदा सचिवालयले महत्वपूर्ण मुद्दामा गम्भीर छलफल गरेको भन्दै विवरण खुलाउन अस्वीकार गरे ।

यता माधवन नेपालले मुख्य रुपमा उठाएका अर्थात उनको असन्तुष्टि पत्रमा सचिवालयले आफ्नै निर्णय विपरित प्रदेश नेतृत्वको अनुमोदन स्थायी कमिटिबाट नगराई एकतर्फी रुपमा घोषणा गरेको, विभिन्न निर्णय संस्थागत प्रक्रियाबाट नलिइएको भन्दै नेतृत्वको अलोचना गरेका थिए । साथै उनले एक व्यक्तिले केन्द्रीय तहको एक पद सम्हाल्नु पर्ने बताउँदै आएका छन् ।

बैठकमा उपस्थित स्रोतका अनुसार नेपालका यी सबै सुझावलाई तत्काल स्वीकार गर्न तत्परता नदेखाए पनि आगामी दिनमा त्यसबारे ध्यान दिँदै जाने निर्णय बैठकले गरेको छ ।

सार्वजनिक रुपमा श्रेष्ठको भनाई आए अनुसार सचिवालयका पुरानै निर्णय अर्थात प्रदेश नेतृत्व छनौटलाई कार्यान्वयन गर्ने निर्णय बैठकले लिएको छ ।

ओली र दाहालको आरोप प्रत्यारोप शिलशिलामा मारमा परेका थिए अर्का नेता सचिवालय सदस्य तथा उपप्रधान र रक्षा मन्त्री ईश्वर पोखरेल ।
रामवीर-वामदेव प्रकरणमा पार्टी भित्र औपचारिक छलफल हुनु अगावैसामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी गरेका उनीमाथि गौतमले असन्तुष्टि देखाएका थिए । गौतमले पार्टीको आन्तरिक मामिला सार्वजनिक गरेको र त्यसको नियत आफूलाई बदनाम गर्न लक्षित रहेको भन्दै पोखरेलको चर्को आलोचना गरेका थिए ।

दुई दिने बैठक भए पनि आरोप प्रत्यारोपले प्राथमिकता पाएपछि पार्टीका महत्वपूर्ण एजेण्डाहरु छायामा परेका थिए । खास गरी पार्टीको तल्लो तहको एकीकरण, पोलिट्व्युरो गठन, कार्यविभाजन, विभिन्न आयोगहरु गठन, जनवर्गिय संगठन, प्रवास कमिटि गठन, विधान संशोधनसहितका एजेण्डा ओझेमा परे ।

स्रोतका अनुसार ओली, दाहाल र अन्य शीर्ष नेताबिच तीव्र आलोचना भए पनि अन्तिम विजय भने ओलीको भएको छ । एकातिर दाहाल गौतमको ‘गेम प्लान’ अर्थात गौतमको उपनिर्वाचनमा लड्ने सपना समाप्त भएको छ । अर्कोतिर वरिष्ठ नेता नेपालको असन्तुष्टि ‘ललिपप’ मा सीमित भएको छ ।

कार्तिक ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्