रोनाल्डोमाथि बलात्कार आरोप : वकिल ढुक्क, सत्य बाहिर आउँदै

रोनाल्डो अप्रत्यासित रुपमा मुस्कुराउँदै झुल्किए, बलात्कार आरोपबारे बोले प्रत्यक्ष रुपमा

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले आफूमाथि लागेको बलात्कारको आरोप सम्बन्धमा पहिलोपटक प्रत्यक्ष रुपमा प्रतिक्रिया दिएका छन् ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत पूर्व क्लब म्यानचेस्टर युनाइटेडसँगको खेलअघिको पत्रकार सम्मेलनमा युभेन्टसका रोनाल्डोले बलात्कार आरोपका सम्बन्धमा आफ्ना वकिलहरु ‘ढुक्क’ रहेको र सत्य जहिले पनि बाहिर आउने बताएका छन् ।

रोनाल्डोमाथि एक अमेरिकी महिलाले सन् २००९ मा बलात्कार गरेको आरोप लगाएकी छन् । आरोपका सम्बन्धमा अमेरिकाको लस भेगास प्रहरीले अनुसन्धान गरिरहेको छ । रोनाल्डोले यसअघि सामाजिक सञ्जाल र आफ्ना वकिल मार्फत आफूमाथि लागेको आरोप स्पष्ट रुपमा अस्वीकार गरेका थिए ।

३४ वर्षकी अमेरिकी महिला क्याथरिन मायोर्गाले ३३ वर्षका रोनाल्डोमाथि सन् २००९ मा लस भेगासको एक होटल रुममा बलात्कार गरेको आरोप लगाएकी हुन् । रोनाल्डोले सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

रोनाल्डोसहितको युभेन्टसले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति वल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । आफ्नो पूर्व क्लब विरुद्ध उसकै मैदानमा खेल्नु २४ घण्टाअघि रोनाल्डोले भनेका छन्, ‘मलाई थाहा छ कि मैदान र मैदान बाहिर पनि म एक उदाहरण हुँ ।’ यसो भनेर उनले आफूमाथि लागेको आरोपको फेरि खण्डन गरेका हुन् ।

वल्ड ट्राफोर्डमा भएको पत्रकार सम्मेलनमा अप्रत्यासित रुपमा उपस्थित भएका रोनाल्डोले भने, ‘म जहिले मुस्कुराइ रहेको हुन्छु, खुशी व्यक्ति हुँ ।’

रोनाल्डोले अघि भने, ‘मैले उत्कृष्ट क्लबबाट खेल्दै आएको छु, साथमा राम्रो परिवार छ । चार सुन्तान छन्, स्वस्थ छु, सबथोक छ, अरु यावत कुराले मलाई प्रभाव पार्दैन । अवस्थाका बारेमा झुट बोल्न चाहन्नँ, मेरा वकिलहरु ढुक्क छन् र म पनि ।’

फुटबल र जिन्दगीमा रमाइरहेको बताउने रोनाल्डोले भने, ‘मसँग मेरो जीवनलाई माया गर्ने शुभचिन्तकहरु छन्, र सत्यताको नजिक वकिलहरु पुगेको छन्, म सही छु ।’

कात्तिक ६, २०७५ मा प्रकाशित