प्रधानमन्त्री ओलीको फेरिएको बोली

अब घरघरमा ग्यास पाइप होइन बिजुलीको तार

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सपना बाँडेका छन् । आफ्नो यसअघिको कार्यकालमा हरेक घरको चुलोमा ग्यास पाइपलाइन पुयार्उने बताएका प्रधानमन्त्री ओलीले अब ग्यास पाइपलाइन होइन सबै चुलोमा बिजुलीको तार लैजाने बताएका हुन् ।

एडीबीको आर्थिक सहयोगमा लुम्बिनी विकास कोषले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनका लागि खरिद गरेका पाँचवटा अत्याधुनिक एवं सुविधासम्पन्न बसकाे मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान–प्रविधिको विकासले चाँडो चाँडो फड्को मारेकाले अब ग्यासकाे पाइप होइन बिजुलीकाे पाइपबाट खाना बनाउने सुविधा उपलब्ध गराउने बताएका हुन् ।

‘विज्ञान र प्रविधि मानव जीवनलाई सहज तुल्याउनका लागि सहयोगी बनेको छन् । त्यसैले अघिल्लो कार्यकालमा मैले ग्यास सिलिण्डरको सट्टा घरघरका चुलाे मा ग्यास पाइप जोडिदिने भनेको थिएँ । त्यतिबेला निकै चर्चाको विषय बन्यो त्यो’, उनले अगाडि थपे, ‘छिट्टै ग्यासको पाइप हैन, बिजुलीको तार चुलोमा जोड्ने छौँ सबैका घरघरमा । संसार छिटोछिटो बगेको छ । केही वर्षभित्र ग्यास पाइप चुलोमा रहने छैन । हामीले बिजुलीको तार जोडिने छ । त्यतातर्फ जाँदै छौँ । केहीलाई फेरी अनौठो लाग्न सक्छ ।

नेपाल अबको केही वर्षभित्रै जलविद्युत आत्मनिर्भर हुने भएकाले  बिजुलीबाट सवारी साधान चलाउन पनि समस्या नहुने उनले बताए । बिजुली बसको प्रयोग बढाएसँगै पेट्रोलको महंगीबाट चाँडै नै मुक्ति मिल्ने दाबी पनि उनले गरे । उनले भने, ‘यस्ता बसले वातावरण प्रदुषण पनि गराउँदैन । हाम्रो पैसा पनि खेर जाँदैन ।’

विद्युतीय सवारी साधनका सञ्चालन व्यवस्थापनका लागि केही दिनमै इकाई गठन गरिने पनि उनले बताएका छन् । २० ठाउँमा चार्जिङ्ग स्टेसन खोलिने बताउँदै उनले सन् २०५० सम्ममा पेट्रोलको खपत निकै घटाउने दाबी पनि गरे ।

बिजुली बसमा चालक र यात्रु गरी २० जना सवार हुन सक्छन् । अपांगमैत्री रहेको बस एकपटक चार्ज गरेपछि २५० किलोमिटर गुड्ने जनाइएको छ ।

कात्तिक ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्