पत्रकार जमाल खाशोग्गी मृत्यु प्रकरण

‘न्याकेड ट्रुथ’ सार्वजनिक गर्ने टर्कीको चेतावनी, अमेरिकी वित्त मन्त्री र साउदी युवराजबिच गोप्य भेट

अमेरिकाका एक उच्च अधिकारीले साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानलाई रियादमा भेटेका छन् ।

पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरेबियाको संलग्नता रहेको भन्दै विश्वव्यापी रुपमा चासो व्यक्त भइरहेका अमेरिकाका वित्त मन्त्री स्टिभन एमनुचिनले सोमबार साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेटेका हुन् ।

अमेरिकी वित्त मन्त्री एमनुचिन र साउदी क्राउन प्रिन्सबिच रियादमा गोप्य वार्ता भएको हो । अमेरिकी वित्त विभागले बन्द कोठमा भएको वार्ताका बारेमा विस्तृत विवरण खुलाएको छैन । त्यो भेटमा एमनुचिन र क्राउन प्रिन्स बाहेक अरु को को राजनीतिक तथा व्यवसायिक व्यक्तिको उपस्थिति थियो भन्ने खुलाइएको छैन ।

भेटमा आर्थिक तथा प्रतिआतंकवादका मुद्दा तथा खाशोग्गीको मृत्यु प्रकरणबारे कुरा भएको जानकारी भने विभागले दिएको छ । साउदी अरेबियाको सरकारी सञ्चारमाध्यमका अनुसार दुई नेताले अमेरिका–साउदी अरेबिया रणनीतिक सहकार्यमा जोड दिएको उल्लेख गरेको छ ।

यो हप्ता साउदी अरेबियाको राजधानी रियादमा हुने लगानी सम्मेलनमा एमनुचिनसहित विश्वका धेरै नेताले सहभागिता नजनाउने बताएका छन् । तर पनि एमनुचिनले क्राउन प्रिन्सलाई भेटेका हुन् ।

टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पसेपछि बेपत्ता भएका पत्रकार जमाल खाशोग्गीको हत्या भएको साउदी अरेबियाले स्वीकार बताइसकेको छ । तर उसले हत्यामा खराब नियत भएका एजेन्टहरुको हातरहेको दाबी गरेको छ ।

तर टर्कीका अधिकारीले भने खाशोग्गीको साउदी कन्सुलर कार्यालयमै हत्या भएको दाबी गर्दै आएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले पत्रकार खाशोग्गीको हत्याका सम्बन्धमा ‘न्याकेड ट्रुथ’ अर्थात सम्पूर्ण सत्य सार्वजनिक गर्ने बताएका छन् । उनले मंगलबार संसदमा घटनाका सम्बन्धमा बोल्दै सम्पूर्ण सत्य बाहिर ल्याउने बताएका हुन् ।

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान

सुरुमा पत्रकार खाशोग्गीका बारेमा आफूहरुलाई औपचारिक जानकारी नै नरहेको बताउने गरेको साउदी अरेबियाले उनले अक्टोबर २ मै कन्सुलर कार्यालय छोडेको बताएको थियो । तर अन्तर्राष्ट्रिय दबाब बढ्दै जाँदा गएको शुक्रबार अबेर उसले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो ।

उसले सोमबार खाशोग्गीको हत्या भएको र त्यसमा दुष्ट नियत भएका एजेन्टको संलग्नता रहेको दोस्रो बयान जारी गर्यो । तर उनको हत्याका सम्बन्धमा उच्च अधिकारीलाई कुनै जानकारी नरहेको उसको भनाई छ ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबिया र विशेष गरी शक्तिशाली युवराज मोहम्मद बिन सलमानले गरेका केही कामका कडा आलोचक हुन् ।

साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेरले फक्स न्युजसँग पत्रकार खाशोग्गीको हत्या ‘गम्भीर गल्ति’ रहेको सोमबार बताएका हुन् । तर यसका लागि देशका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानले आदेश दिएको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताएका छन् ।

यसमा शक्तिशाली क्राउन प्रिन्स सलमानको कुनै संलग्नता नरहेको विदेश मन्त्री अल–जुबेरले बताएका छन् । साउदी अरेबियामाथि पत्रकार खाशोग्गी घटनाका स्पष्ट विवरण सार्वजनिक गर्न दबाब बढेको छ ।

साउदीका विदेश मन्त्री अल–जुबेरले घटनालाई हत्याको रुपमा बताएका हुन् । उनले भनेका छन्, ‘हामी सबै तथ्य पत्तालगाउन प्रतिबद्ध छौँ । र हत्यामा संलग्नलाई कारवाही गर्नका लागि पनि प्रतिबद्ध छौँ ।’

उनले थपे, ‘जसले यो घटना घटाए त्यो उनीहरुको अधिकार वा क्षेत्राधीकार भन्दा बाहिरको कुरा हो । यो पक्कै पनि गम्भीर गल्ति भएको छ, र यसलाई ढाकछोप गर्न खोग्नु पनि गल्ति हो ।’

खाशोग्गीको शरीर कहाँ छ भन्ने बारे आफूहरुलाई थाहा नभएको उनले बताए । उनले जोड दिएर भने, ‘यो घटनामा कुनै पनि रुपले क्राउन प्रिन्स मोहम्मद बिन सलमानको हात छैन । उहाँले यसका लागि निर्देश दिनुभएको छैन ।’

अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरिएको साउदी अरेबियाले बताएको छ । यस्तै क्राउन प्रिन्सका दुई सल्लाहकारलाई बर्खास्त पनि गरिएको छ ।

घटनामा संलग्न भएको देखिएपछि साउदी अरेबियाको गुप्तचर निकायका उप प्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई बर्खास्त गरिएको हो।

साउदी अरेबियाका राजा सलमानले देशको गुप्तचर सेवालाई पुनर्संरचना गर्न मन्त्रीस्तरीय कमिटि बनाउन निर्देशन दिएका छन् । यो कमिटिको नेतृत्व क्राउन प्रिन्स मोहम्मदले गर्नेछन् ।

अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका नागरिक हुन् । उनी साउदी अरेबिया, विशेष गरी शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानमा आलोचक हुन् । त्यहि कारण उनको हत्या भएको आरोप छ । अन्तर्राष्ट्रिय समुदायले घटनाको आलोचना गरेका छन् ।

कात्तिक ६, २०७५ मा प्रकाशित