आफ्नो समृद्धि आफैले खाेज्दा

लघुवित्त कार्यक्रमका चम्किला तारा

६ वर्षदेखि दक्षिणकाली सहारा महिला समूहमा आवद्ध रहेर कुखुरा पालन गर्दै आएकी मोरङ सुन्दर हरैंचा–१ की ४९ वर्षीया दुर्गा सुवेदी। तस्बिर- उमाकान्त खनाल/देश सञ्‍चार

विर्तामोड  लघुवित्त कार्यक्रम सञ्चालन गर्ने वित्तीय संस्थाहरुबाट कर्जा लिएर धेरैले फजुल खर्च गर्ने गरेका उदाहरण पाइन्छन्। तर त्यस्ता महिला पनि छन् जस्ले लघुवित्त कार्यक्रमबाट कर्जा लिएर आफ्नो जीवन शैलीमा नै आमूल परिवर्तन ल्याएका छन्। र,आफ्नो समृद्धि आफैंले खोजेका छन्।

मोरङ सुन्दर हरैंचा–१ की ४९ वर्षीया दुर्गा सुवेदीले विगत ६ वर्षदेखि दक्षिणकाली सहारा महिला समूहमा आवद्ध सुवेदी कुखुरा पालन गरिरहेकी छिन्। सुवेदीले हाल ५ सयवटा कुखुरा पालेकी छिन्।

आफू शाकाहारी भएर पनि कुखुरा पालन गर्दै आएकी सुवेदीले पुरस्कार पाएपछि खुशी हुँदै भनिन्, ‘एकदमै दु:खले जीविकोपार्जन गरेको मेरो जीवन सहाराले समृद्ध बनायो, म एकदमै खुशी छु ।’

निम्न वर्गिय परिवारमा हुर्किएकी उनलाई जन्मदिने बा आामाले विवाह गरेर पराईको जिम्मा लगाई दिएपछि दुर्गाको जिवनमा पनि काहाली लाग्दा दिनहरु सुरु भए। श्रीमानको पुलिसको जागिरले चलेको परिवारमा अर्को आमदामीको श्रोत थिएन । छोरा छोरीलाई लालनपालन र घर खर्च गर्न निकै समस्या थियो ।

२०६६ सालमा जब उनी सहारा नेपालको लघुवित कार्यक्रममा समूहमा प्रवेश गरिन उनको जीवनले गति लियो । सहाराकै समुहबाट  २० हजार ऋण लिएर तरकारी खेती सुरु गरेकी उनले हाल आएर सोही पेसालाई आफ्नो पहिचान बनाएकी छिन् ।

एक कठ्ठा जमीन लिजमा लिएर सहारा नेपालको सहाराले लगानि गरेको २० जहारले सुरु गरको तरकारी खेती पेसाले उनी स्वरोजगार बनिन् ।

हाल सहाराकै ऋणबाट कुखरा पालन व्यवसायलाई समेत जोडेकी दुर्गाको हाल ५०० कुखुरा खोरमा छन् ।

उनको व्यवसायलाई सहारा नेपाल साकोसले विना धितो  १ लाख ५० हजार कर्जा लगानी गरेको छ । तरकारी खेति र कुखुरा पालनबाट सुरुका दिनमा मासिक ६० हजार कमाइ हुनथाले पछि दुर्गाले छोरालाई इजरायल पठाइन् संयोगले इजरायलमा पनि छोराले कुखुरा फार्ममानै शिप सिक्ने अवसर पाए । विदेशमा सिकेको सिपले आमाले थालेको व्यवसायलाई बढाउने उनको सोच छ । तरकारी खेती र कुखुरा पालन बाट कमाएकै पैसाले दुर्गाले करिव ३० लाख मुल्यको ३० धुर जग्गा समेत जोडिन  ।

दुई बर्षअघि उनलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५१ हजार रुपैयाँसहित प्रोफेसर मोहम्मद् युनुस सहारा पुरस्कारले पुरस्कृत गरेको थियो।

छोरी जन्माएको भन्दै श्रीमानले छोडेर बेपत्ता भएपछि सासु ससुरालाई स्याहार गरेर बसेकी गौरादह–३ झापाकी ४३ वर्षीय धनकुमारी कटुवाल यतिबेला आफ्नो जीवनलाई समृद्ध बनाउन लागि परेकी छिन् ।

२०६४ सालतिर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.द्वारा सञ्चालित रोड नेटवर्क डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गत चटपटे बनाउने तालिम लिएकी उनले चटपटे बेचेर नै आफ्नो जीविकोपार्जन गरेकी मात्र छैनन्, गौरादह बजार नजिकैको जमिनमा घर समेत बनाइन् ।

उनको परिश्रमको उच्च मूल्यांकन गर्दै सहाराले २०७१ सालमा ५१ हजार रुपैयाँसहित प्रोफेसर मोहम्मद् युनुस सहारा पुरस्कारले पुरस्कृत उनलाई पुरस्कृत गर्यो।

‘सुरुमा मैले सहाराको मनकामना महिला समूहमा गौरीगञ्ज गएर पाँच हजार ऋण लिएको थिएँ’, उनी भन्छिन्, ‘आज मैले सो ऋणलाई बढाएर लगेकी छु ।’ लघु वित्त कार्यक्रम मार्फत कतिपय मानिसले लगेको पैसा दुरुपयोग भएको खबरका माझ कटुवाल जीवन सुधार्दै लैजाने एकजना पात्र बनेकी छिन् ।

चटपटे बेच्ने कामसँगै गौरादहकै माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा टिफिन टाइमसम्म पसल गर्दै आएकी धनकुमारी त्यसपछिको समय माछा र कुखुरापालनमा व्यस्त हुन्छिन् । आफ्नो घर छेउमै रहेको जग्गामा उनले कुखुरा फार्म समेत खोलेकी छन् भने घरैपछाडि माछा पोखरी पनि बनाएकी छन् ।

दुःखका दिन बिर्संदै उनी भन्छिन्, ‘मलाई आज यो ठाउँमा उभिने र खुट्टा टेकाउने सहारा नै हो ।’ उनी थप्छिन्, ‘सहाराले मलाई चिनायो पनि र अगाडि हिँडायो पनि ।’

लघुवित्त कार्यक्रमबाट आफैं समृद्धि खोज्ने महिलामा मोरङको पथरी शनिश्चरे नगरपालिका ८ की ४४ वर्षिया विमला भण्डारी पनि हुन्।

एक दशक अगाडिसम्म श्रीमानलाई विदेश पठाएको ऋण तिर्न त के उनलाई घर फर्काउने रकमसमेत ऋण गरेर तिर्नु परेको सम्झँदा विमलालाई अहिले सपना जस्तो लाग्छ । ‘कामले काम सिकाउँछ र मेहनतले आर्जन’ भनाइ अहिले त्यो गाउँमा अरुका कुरा काटेर बस्नेका लागि गतिलो उदाहरण भएको छ । विमला आज त्यही ठाउँमा मेहनती महिला उद्यमीका रुपमा कहलिएकी छन्।

व्यापार व्यवसाय सुरु गर्दाका दिनमा स-साना काममा पनि अल्छी नमानी लाग्ने विमला अहिलेसम्म आइपुग्दा कुखुरापालन र कुखुरको मासु बिक्री गर्ने काममा तल्लिन छन् । उनले अहिले मनग्य आम्दानी आर्जन गरिरहेकी छन्। “गाउँमा मलाई दुई रुपैयाँका लागि समेत नपत्याउने अवस्था थियो, आज मलाई यहाँसम्म ल्याइपुर्याउन सहाराको ठूलो हात छ,” उनले भनिन् ।

मेहनती महिलाका रुपमा परिचित विमलाले अहिले घरैमा कुखुरा फार्म खोल्नुका साथै फ्रेस हाउस समेत खोलेकी छन् । विदेश पठाएका श्रीमान्‌लाई पैसा कमाउनु त कता हो कता उल्टै ऋण खोजेर नेपाल फर्काउनुपर्‍यो।

“भोकभोकै कैयौँ रात सुतेकी छु, तै पनि मैले हरेस खाइनँ, काममा लागिरहेँ”, उनले भनिन्, “पहिलोपटक सहारा नेपाल साकोसले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा सहभागी भएर समूहमा आबद्ध भएपछि रु पाँच हजार कर्जा लिई जुत्ता चप्पल व्यापार सुरु गरे ।” जुत्ता चप्पल बेच्न उनी साइकलमा पोका बोकेर बयरवन,रमाइलोलगायत बजारसम्म पुग्थिन ।

मासिक ५० हजारभन्दा बढी कमाइ गर्न थालेपछि अहिले उनको जीवनशैली फेरिएको छ । उनको व्यापार पथरी शनिश्चरेमा मात्र सीमित छैन । इटहरीसम्म फैलिएको छ । “अहिले आफूलाई मात्र होइन अरुलाई पनि आत्मनिर्भर गराउन सक्ने अवस्थामा छु,” उनले भनिन्।

कार्तिक ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू