दसैँको मौकामा चोरी

घुम्ती फोर्नेलाई मुद्दा, घर फोर्ने खोइ ?

नेपालगञ्‍ज-दशैं मान्‍न गएको बेलामा बसपार्क र जुम्लीटोलमा चोरी भयो । ताला फोरेर चोरले नगद र गरगहना लगे।घरभाडामा बस्ने तथा स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुग्यो। मुचुल्का उठायो। मान्छे नभएर जुम्लीटोलको यकिन तथ्यांक आइसकेको छैन। बसपार्कमा तीन तोला बराबरको गहना चोरी भएको घर मालिकले बताएका छन्।

दशैंमा नेपालगञ्जमा यी दुई ठूला चोरी भए । ताला लगाएर छोडिएको घरमा चोरले भएको जति लगे । यी बाहेक बेलभारमा घुम्ती फोरियो भने नेपालगञ्जमा एकजनाको मोबाइल चोरी भयो । कोहलपुरमा साइकल चोरी भयो।

जुम्लीटोलको धनबहादुर बस्नेत र बसपार्कका सिंह थरका व्यक्तिको घरको चोरीबारे जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता छैन । प्रहरीले बेलभारमा घुम्ती फुटाउने, नेपालगञ्जमा मोबाइल चोर्ने र कोहलपुरमा साइकल चोर्नेविरुद्ध मुद्दा दर्ता गरेको छ । बसपार्कको तीन तोला सुन र जुम्लीटोलको दुई तलेमा घर फोरिएको घटना प्रहरीले मुद्दा दर्ता गरेको छैन।

घुम्ती फोर्नेविरुद्ध मुद्दा चलाउने, घर नै फोर्ने गर्नेविरुद्ध किन मुद्दा चलेन ? एक प्रहरी अधिकृत भन्छन्, मुद्दा चलाउनलाई सामान बरामद वा चोरी गर्नेको पहिचान हुनुपर्छ । यी दुई घटनामा दुवै हुन सकेको छैन ।

प्रहरीका अनुसार, चोरी भएको सात दिनभित्र पीडितले सामान्य निवेदन दिन सक्छ। प्रहरीले खोजतलास गर्दा चोरी भएको सामान बरामद या चोरको पहिचान हुन सकेमात्रै मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाउँछ । प्रहरीले ‘सबुत’ फेला नपारेसम्म मुद्दा चलाउदैन।

यसपाली दशैंमा नेपालगञ्जमा चोरीमा कमी आयो । प्रहरीले ‘मस्टवान्टेड’ २५ चोरको खोजी गरेको र सुरक्षा व्यवस्था कडा पारेकाले चोरीमा कमी आएको जनाएको छ । नेपालगञ्जमा लागु पदार्थ प्रयोगकर्ताको बिगबिगी नै रहेकाले सामान्य चोरी भइरहन्छन् । दशैंमा खाली हुने घरहरु यसपाली सुरक्षित नै रहे । विगतमा जसरी घटस्थापनादेखि पूर्णेसम्ममा एक दर्जनमा घर फोर्ने काम यसपाली भएन ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज रणबहादुर विष्टले यो दशैंमा तीन वटा चोरीको मुद्दा दर्ता भएको बताए । उनका अनुसार, बेलभारको घुम्ती, नेपालगञ्जमा मोबाइल र कोहलपुरमा साइकल चोरी घटनाको मुद्दा दर्ता भएको छ ।

वडा प्रहरी कार्यालय, नेपालगञ्जले दशैंमा ठूला चोरी नभएको जनाएको छ। ‘विगतमा जसरी दशैंमा ठूला चोरी हुन पाएन, वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज नारायण डाँगीले भने, हाम्रो सुरक्षा रणनीतिले काम गर्‍यो।’

कार्तिक ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्