निर्मला बलात्कारपछि हत्या प्रकरण

निलम्बित एसपीले स्पष्टिकरणको पत्र बुझे,भोलिसम्म जवाफ दिनुपर्ने

काठमाडौँ-  कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा लापरबाही गरेको आरोपमा बर्खास्तको तयारी भइरहेका प्रहरी उपरिक्षक डिल्लीराज विष्टले सरकारले सोधेको स्पष्टीकरण पत्र मंगलबार बुझेका छन्।

यसअघि प्रहरी प्रधान कार्यालयले एसपी विष्ट र प्रहरी निरिक्षक जगदिश भट्टलाई बर्खास्त गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको थियो। गृहसचिव प्रेम राईले भट्ट र विष्ट दुवैलाई लिखित स्पष्टीकरण दिन पत्र काटेका थिए।

भट्टले सोमबार नै पत्र बुझेको स्रोतले जनाएको छ। पत्र बुझेको २४ घन्टाभित्र लिखित स्पष्टिकरण दिनुपर्ने कानुनी ब्यवस्था छ। प्रहरी निरीक्षकदेखि उपरीक्षकसम्मको बर्खास्तगीको अधिकार गृहसचिवमा निहीत हुन्छ। गृहसचिवले दुई पटकसम्म २४ घन्टे स्पष्टीकरण सोध्न सक्छन्।

स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभए दुवै बर्खास्त हुनेछन्। गत साउन ११ गते भएको पन्तको बलात्कारपछि हत्या प्रकरणका बेला विष्ट कन्चनपुरका प्रहरी प्रमुख र भट्ट घटना भएको क्षेत्रका इलाका इन्चार्ज थिए।

 

कार्तिक ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्