डीआईजीमा बढुवा भएका शैलेश मेट्रोमा, प्रवक्तामा उत्तम

काठमाडौँ-हालसालै आफ्नो ब्याचका मध्ये एक नम्बरमा रहेर प्रहरी नायब महानिरीक्षक-डीआईजीमा बढुवा भएका शैलेश थापा महानगरीय प्रहरी कार्यालय रानी पोखरी-मेट्रोमा पदस्थापन भएका छन्।

डीआइजीमा बढुवा भएका सबै ११ जनाको मंगलबार पदस्थापन भएको हो। शैलेश यसअघि प्रहरी प्रवक्ता थिए। शैलेशको बढुवा भएपछि एसएसपी उत्तमराज सुवेदीलाई प्रवक्ता तोकिएको छ।

यसैगरि डीआईजी हरि पाललाई प्रदेश-२ प्रमुखमा पदस्थापन गरिएको छ। २०४६ साल चैत र २०४७ असारमा  प्रहरी निरिक्षकमा भर्ना भएका सात जना र २०४९ बैशाखमा प्रहरी निरिक्षकमा भर्ना भएका चार जना एक साताअघि डीआईजीमा बढुवा भएका हुन्। वर्तमान आईजी सर्वेन्द्र खनालले २०७६ माघमा सेवा अवधिका कारण अवकाश पाउने छन्।

त्यसपछि २०४७ असारमा सेवा सुरु गरेका वा २०४९ वैशाखमा सेवा सुरु गरेकामध्येबाट आइजी नियुक्त हुने छन्। पहिलो अवस्थामा आइजी नियुक्त भए उसले करीब चार महिना लगत्तै सेवा अवधिका कारण अवकाश पाउने छ। थापा आफ्ना ब्याचका मध्ये लगातार पहिलो नम्बरमा रहेर बढुवा हुँदै आइरहेका छन्।

उपत्यकाको सुरक्षा चुनौतीका हिसाबले मेट्रोको जिम्मेवारी महत्वपुर्ण मानिन्छ। डीआईजी निरज शाही केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी र डीआईजी  प्रधुम्न कार्की प्रहरी एकेडेमीमा पदस्थापन भएका छन्।

डीआईजी पिताम्बर अधिकारी प्रदेश-५  र डीआईजी दिनेश अमात्य लागू औषध नियन्त्रण ब्युरो-एनसिबीमा सरुवा भएका छन्।

 

कात्तिक ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्