च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेड ०–१ युभेन्टस

रोनाल्डो आकर्षणको केन्द्रमा, उनको सहयोगमा डिबालाको विजयी गोल

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो वल्ड ट्राफोर्ड पुनरागमनलाई जितको उत्सवमा बदलेका छन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूहचरणको खेलमा रोनाल्डोको नयाँ क्लब युभेन्टसले उनको पुरानो क्लब म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो ।

वल्ड ट्राफोर्डमा मंगलबार राति भएको समूह एच अन्तर्गतको खेलमा युभेन्टसलाई जिताउन पाउलो डिबालाले ७४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो गोलका लागि रोनाल्डोले सहयोग गरेका हुन् ।

रोनाल्डोको क्रस बललाई डिबालाले उत्कृष्ट फिनिसिङ्गसहित गोलमा परिणत गरेका हुन् । यो खेलमा इटालियन च्याम्पियन युभेन्टसले गोल गर्ने अरु धेरै राम्रा मौका बनाएको थियो ।

पहिलो हाफमा उसले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै म्यानचेस्टर युनाइटेडको पोस्टमा १० पटक प्रहार गर्न सक्यो । युनाइटेडले एक पटक मात्रै पोस्ट प्रहार गर्न सक्यो । बलमा नियन्त्रण युभेन्टसको ७० प्रतिशत भन्दा बढी रह्यो ।

दोस्रो हाफमा युनाइटेडले आफ्नो प्रदर्शनमा सुधार गर्यो । जोसे मोरिन्होको टिमले गोल गर्ने प्रयास पनि गरेको हो । पउल पोग्बाको प्रहार रिबाउण्ड भयो । यो खेलमा युनाइटेडका प्रशिक्षक मोरिन्होका लागि निराशाजनक रह्यो ।

युरोपियन प्रतिस्पर्धामा घरेलु मैदानमा सन् २०१३ यता युनाइटेड पराजित भएको यो दोस्रो पटक हो । अवे फ्यानले त्यसको मजाक बनाएका थिए ।

सन् २०१३ को मार्चमा भएको खेलमा यहि मैदानमा म्यानचेस्टर युनाइटेड रियल मड्रिडसँग पराजित भएको थियो र त्यसका लागि गोल गरेका थिए रोनाल्डोले । अहिले फेरि रोनाल्डोकै सहयोगमा डिबालाले गरेको गोलबाट युभेन्टससँग पराजित भयो ।

अब युभेन्टस र युनाइटेडबिच नोभेम्बर ७ मा युभेन्टसको मैदानमा भेट हुनेछ । लगातार तेस्रो जित निकालेको युभेन्टस ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । चार अंकसहित युनाइटेड दोस्रो स्थानमा कायम छ । यहि समूहको अर्को खेलमा योङ्ग ब्वाइज र भ्यालेन्सियाले १–१ को बराबरी खेलेका छन् ।

रोनाल्डो सबैको नजरको केन्द्रमा कायम


रोनाल्डो यो पटक वल्ड ट्राफोर्ड फर्किँदा उनीमाथि बलात्कार जस्तो गम्भीर आरोप थियो र छ । एक अमेरिकी महिलाले लगाएको त्यो आरोप रोनाल्डोले स्पष्ट रुपमा अस्वीकार गर्दै आएका छन् ।

उनले अस्वीकार गरे पनि कम्तिमा छानबिनको नतिजा नआउँदासम्म त्यो आरोपले उनको पिछा गरिरहेको छ । रोनाल्डोले खेलअघि आफू खुशी व्यक्ति रहेको बताएका थिए ।

उनी खेलको वार्मअपका लागि टनेलबाट मैदान छिर्दै गर्दा उत्साहपूर्ण स्वागत प्राप्त गरे । उनलाई युनाइटेडका फ्यान र युभेन्सटका फ्यान दुवैले उसै गरी स्वागत गरे ।

६ वर्षसम्म (सन् २००३ देखि २००९) युनाइटेडको खेलाडी रहँदा उनले खेलमा महत्वपूर्ण भूमिका खेल्ने गरेका थिए । ३३ वर्षका रोनाल्डोको पहिलो हाफको प्रदर्शन उनको पुरानो लयको सम्झना गराउने खालको थियो उनी युनाइटेडमा रहँदाको समयको जस्तो ।

रोनाल्डोल गोलका लागि राम्रो प्रहार गरेका थिए तर डेविड डि जियाले सुन्दर बचाउ गरे । तर उनले खेलभर गरेको प्रदर्शन उत्कृष्ट रह्यो र गोलका लागि सहयोग पनि । यस्तै मैदानमा खेल भइरहेका बेला रोनाल्डालाई भेट्न केही समर्थक गए । ती मध्ये एकसँग उनले सेल्फी पनि लिए ।