पत्रकार जमाल खाशोग्गी मृत्यु प्रकरण

खाशोग्गी हत्याको ढाकछोप इतिहासकै खराब कभर–अप : ट्रम्प

पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा साउदी अरेबियाको प्रतिक्रियाको उसको नजिकको सहयात्री ठानिएको अमेरिकाले कडा आलोचना गरेको छ ।

पत्रकार खाशोग्गी मामिलामा अमेरिकाले बेलाबेलामा बोली फेर्दै आएको छ । सुरुमा कडा आलोचना गरेको अमेरिकाले बिचमा नरम व्यवहार देखायो ।

अहिले फेरि कडा बनेको देखिएको छ । तर दुई देशमाथि नै घटनाको ढाकछोपका लागि एकअर्कालाई सघाएको आरोप लागेको छ ।

यहिबिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार खाशोग्गीका सम्बन्धमा साउदी अरेबियाले दिएको प्रतिक्रिया अहिलेसम्मकै खराब ‘ढाकछोप’ रहेको बताएका छन् ।

गएको शुक्रबार अबेर पत्रकार खाशोग्गीको मुक्का हानाहानमा मृत्यु भएको बताएको साउदीले सोमबार उनको हत्या भएको र त्यसमा दुष्ट मनसाय भएका एजेन्टको हात रहेको भन्यो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले साउदीको प्रतिक्रियालाई खराब ढाकछोप भन्दै जो कोहीले पनि यो हत्या गरेको वा योजना बनाएको भए पनि त्यो ठूलो समस्यामा पर्ने चेतावनी दिएका छन् ।

ट्रम्पको भनाई आएको केही समयपछि नै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले घटनामा संलग्नलाई अमेरिकाले कडा कारवाही गर्ने बताए । घटनामा संलग्न भएको आरोप लागेका २१ जनाको भिसा रद्द गर्ने प्रक्रिया सुरु भएको पनि उनले बताएका छन् ।

टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालय

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबिया र विशेष गरी शक्तिशाली युवराज मोहम्मद बिन सलमानले गरेका केही कामका कडा आलोचक थिए । टर्कीको स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा अक्टोबर २ मा पसेदेखि बेपत्ता रहेको उनको हत्या भएको हो ।

साउदी अरेबियाको प्रमुख मित्र अमेरिकामाथि यो घटनालाई लिएर साउदीमाथि कडा रुपमा प्रस्तुत हुन दबाब पर्दै आएको छ । यहिक्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र विदेश मन्त्री पोम्पेओको भनाई आएको हो ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘उनीहरुको वास्तविक अवधारणा नै निकै खराब देखियो, निकै कमजोरीका साथ ढाकछोप गर्न खोजेको देखियो, ढाकछोपको इतिहासमा यो सबैभन्दा खराब रह्यो ।’ ट्रम्पले यसमा संलग्न जो कोही भए पनि कडा कारवाहीको दायरामा आउने दाबी गरे ।

यस्तै विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेश मन्त्री पोम्पेओले साउदीको प्रतिक्रियाबाट आफू र राष्ट्रपति ट्रम्प खुशी नरहेको बताए ।

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ

पत्रकारलाई हिंसाका माध्यमबाट चुप गराउने यो घृणित कार्यमा अमेरिका चुप लागेर नबस्ने स्पष्ट रहेको उनको भनाई छ । आफूहरुले साउदीको भन्दा पनि आफ्नो पक्षबाट भएको अनुसन्धानबाट जे देखिन्छ त्यसैलाई विश्वास गर्ने उनले स्पष्ट पारेका छन् ।

खाशोग्गीको हत्या भएको देश टर्कीका राष्ट्रपति रिशेप तैयप एर्डोगानले हत्या योजनाबद्ध रहेको बताएका छन् । यसले पनि साउदी र अमेरिकामाथि थप दबाब परेको हो । टर्कीका अधिकारीले खाशोग्गीको हत्याका सम्बन्धमा आफूहरुसँग बलिया प्रमाण रहेको त्यसलाई सार्वजनिक गर्ने बताउने गरेका छन् ।

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान

अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका नागरिक हुन् । उनी साउदी अरेबिया, विशेष गरी शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानमा आलोचक हुन् । त्यहि कारण उनको हत्या भएको आरोप छ ।

तर घटनाका सम्बन्धमा साउदीका अधिकारी त्यसमाथि राजा सलमान र क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई कुनै जानकारी नरहेको दाबी गरिँदै आइएको छ ।

कात्तिक ७, २०७५ मा प्रकाशित