साउदीका राजा र युवराजले खाशोग्गीका छोरालाई दरबारमै बोलाएर भेटे, आशंका बढ्यो

साउदी अरेबियाका राजा सलमान र क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानले हत्या भएका पत्रकार जमाल खाशोग्गीको परिवारका सदस्यसँग भेटघाट गरेका छन् ।

राजा सलमान र युवराज मोहम्मदले खाशोग्गीका छोरा सालह जमाल खाशोग्गी र पत्रकार खाशोग्गीका भाइ साहेलसँग यामामा दरबार रियादमा भेटेका हुन् । राजा सलमान र युवराज मोहम्मदले खाशोग्गीका परिवारका सदस्य समक्ष समवेदना प्रकट गरेको जनाइएको छ ।

खाशोग्गी परिवारका एक मित्रका अनुसार जमालका छोरा सालहमाथि पछिल्लो एकवर्षदेखि विदेश भ्रमणमा प्रतिबन्ध रहेको समाचार संस्था एपीले जनाएको छ ।

पत्रकार खाशोग्गीको टर्की स्थित साउदी कन्सुलर कार्यालयमा भएको भनिएको हत्याका लागि युवराज मोहम्मदले आदेश दिएको आरोप लागिरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसलाई खाशोग्गी हत्याको सत्य लुकाउन उनकै परिवारको प्रयोग गर्न लागिएको रुपमा पनि विश्लेषण भएको छ ।

साउदीले घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म १८ जनालाई पक्राउ गरेको जनाएको छ । मंगलबार रियादमा भएको छोटो भेटमा राजा सलमान र युवराज मोहम्मदसँगै जोर्डनका राजा अब्दुल्लाह द्धितियको पनि उपस्थिति थियो । भेटका बारेमा सार्वजनिक रुपमा विवरण खुलाइएको छैन ।

कात्तिक ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्