सालहले अर्ध शतक गोल पूरा गरेको खेलमा लिभरपुलको शानदार जित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले प्रभावशाली जित निकालेको छ । मोहम्मद सालहको दुई गोलको सहयोगमा समूह सी अन्तर्गत घरेलु मैदानमा भएको खेलमा लिभरपुलले रेड स्टार बलेग्राडेलाई ४–० ले हराएको हो ।

लिभरपुलका लागि सालहसँगै रोबर्टो फिरमिनो र साडिओ मानेले गोल गरे । २० औँ मिनेटमा फिरमिनोको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो । ४५ औँ मिनेटमा सालहले गोल गर्दै पहिलो हाफमा टिमलाई २–० को अग्रता दिलाए ।

यस्तै दोस्रो हाफमा थप दुई गोल भयो । ५१ औँ मिनेटमा पाएको पेनाल्टीमा सालहले गोल गरे । लिभरपुलबाट उनको यो ५० औँ गोल बन्यो । सन् २०१७ मा लिभरपुल आएका सालहले ६५ खेलमा ५० गोल गरेका हुन् ।

यस्तै ८० औँ मिनेटमा मानेले गोल गरेपछि लिभरपुलले ४–० को सहज जित निकाल्यो । मानेले त्यसको केहीअघि मात्रै पाएको पेनाल्टीमा गोल गर्न सकेका थिएनन् ।

समूह सी अन्तर्गत बुधबार राति नै भएको खेलमा फ्रेन्च लिग वानमा शानदार प्रदर्शन गर्दै आएको स्टार खेलाडी नेइमारको टिम पेरिस सेन्ट–जर्मेन (पिएसजी) इटालियन क्लब नापोलीसँग २–२ को बराबरीमा रोकियो ।

जित निकालेको लिभरपुल तीन खेलबाट ६ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ । पाँच अंक भएको नापोली दोस्रो तथा चार अंकसहित पिएसजी तेस्रो स्थानमा छ ।

कात्तिक ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्