लडेका र रोएका नेइमारको सम्झना पुनः ताजा

चोट लागेपछि त्यसको पीडा अनुहारमा देखिन्छ र यो सामान्य हो । तर तीन महिनाअघि रुसमा भएको विश्वकप फुटबलको क्रममा ब्राजिलका स्टार स्ट्राइकर नेइमार मैदानमा धेरै लडे ।

उनले सबै खेलमा गरेर १४ मिनेटभन्दा बढी समय मैदानमा लडेरै बिताएको भन्ने कुरा पनि आयो । सामान्य ट्याकलमा पनि असामान्य प्रतिक्रिया देखाउँदै लडेको भन्दै नेइमारको आलोचना भयो । तर नेइमारले भने आफूलाई समस्या भएकैले लडेको बताए ।

विश्वकप सकिएको तीन महिना कटिसक्यो । लिग फुटबलमा नेइमारले राम्रो प्रदर्शन गरिरहेका छन् । र पनि कुनै खेलमा विपक्षी टिमका खेलाडीसँगको ट्याकलमा नेइमार मैदानमा लडे भने त्यसलाई विश्वकपमा उनी लडेकोसँग जोडेर मजाक बनाउनेहरु भने छन् ।

च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति नापोलीसँगको खेलमा नेइमारको क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) २–२ को बराबरीमा रोकियो ।

यो खेलमा नापोलीले १–० ले लिएको अवस्थामा गोलका लागि प्रयास गर्दै गरेका नेइमार नापोलीका खेलाडीसँगको ट्याकल मैदानमा लडे । उनको खुट्टामा पीडा भएको देखिन्थ्यो । रेफ्रीले नापोलीका खेलाडीलाई पहेँलो कार्ड देखाए ।

तर सामाजिक सञ्जालमा भने बुधबार रातिको खेलमा नेइमार लड्नुलाई विश्वकपमा उनी लडेकोसँग दाँजिएको छ ।

कात्तिक ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्