नक्कली प्रमाणपत्रले सरकारी जागिर, प्रहरी र शिक्षक अख्तियारको निशानामा

काठमाडौँ- प्रहरी प्रधान कार्यालयमा दरबन्दी भएका हवल्दार सन्जिव विक्रम शाहले नक्कली शैक्षिक योग्यता प्रमाणपत्र पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साउन २४ गते विशेष अदालतमा मुद्धा दायर गर्‍यो।

सोही महिना उदयपुरका कार्यरत प्रहरी नायब निरिक्षक-सई राजेशकुमार चौधरीको शैक्षिक प्रमाणपत्र पनि नक्कली भएको भन्दै उनीविरुद्ध विशेष अदालतमै  मुद्धा दर्ता भएको थियो।

गत असारमा मात्र  सईहरु सुरजप्रसाद ज्ञवाली, रमेश बुढाथोकी, विकाश कार्की, धिरेन्द्रकुमार श्रेष्ठ, महेश सिंह, कृष्णबहादुर गैरे तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत दोलखबहादुर कार्कीको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उनीहरुविरुद्ध मुद्धा दर्ता भएको थियो। यीमध्ये सिंह र गैरे महानगरीय प्रहरी अपराध महाशाखा र ज्ञवाली प्रहरी एकेडेमीमा कार्यरत थिए।

गत साउनमै स्याङजाकाे एक विधालयका प्रधानाध्यापक तिलकराम उपाध्याय पंगेनीको पनि शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उनीविरुद्ध अख्तियारले मुद्धा दायर गरेको थियो। अख्तियारका सहप्रवक्ता मदन कोइराला जागिरमा प्रवेश गर्दा वा पछि बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने गरेको पाईएको बताउँछन्।

सरकारी जागिरको प्रयोजनमा  नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश भएको भन्दै गत बैशाखदेखि साउनसम्म  ६२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो। अख्तियारले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका सम्बन्धमा अझै १५ सय भन्दा बढी उजुरीको अनुसन्धान भइरहेको जनाएको छ।

अख्तियारका सह प्रवक्ता कोइराला सबैभन्दा बढी नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने क्षेत्र शिक्षा र त्यसपछि प्रहरी रहेको बताउँछन्। गत असार र साउनमा मात्र नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै ९ जना शिक्षकविरुद्ध मुद्धा दर्ता भएको थियो।

उनका अनुसार स्थानीय तह,संस्थान र निजामती क्षेत्रमा समेत नक्कली शैक्षिक प्रमाणपत्र पेश हुने गरेको पाईएको छ। ‘ लोकसेवा आयोगले परिक्षा नलिने अवस्थामा जागिर सुरु नै गर्दा र अन्यको हकमा बढुवाको प्रयोजनमा नक्कली शैक्षिक प्रमाणपत्र पेश हुने गरेको देखिन्छ’, कोइराला भन्छन्।

कात्तिक ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्