वडाध्‍यक्षको आफन्तको घर जोगाउन विद्याय भत्काइयो, विद्यार्थीहरु सडकमा पढ‍न बाध्‍य

सडक विस्तारले विद्यालय भत्किएपछि सडकमा पढ‍न बाध्‍य राजर्षी जनक माविका विद्यार्थीहरु। तस्बिर- प्रतिभा झा/देश सञ्‍चार

जनकपुरधाम- सडक विस्तारको क्रममा विद्यालय भवन भत्किदाँ जनकपुरका सामुदायिक विद्यालयका विद्यार्थीहरु सडकमा पढ‍न बाध्‍य बनेका छन्।
जनकपुर उपमहानगरपालिको वार्ड नम्बर २१ कुर्थास्थित राजर्षी जनक माविका विद्यार्थीहरु सडकमा बसेर पढ्‍न बाध्‍य भएका हुन।

सडकको धुलो र धुँवा सहदै पढ्‍न नसक्‍ने अवस्था आएपछि उनीहरुले सडकमै पढेर विरोध जनाएका छन्। यसका साथै विद्यालय भवन निर्माणको माग गरेका छन्।

बैशाख महिनाको पहिलो साता वडाध्यक्ष रामेश्वर महासेठले सडक निर्माणका लागि भन्दै विद्यालयको कक्षाकोठा र कम्पाउण्ड भत्काउन लगाएका थिए। तर भवन भत्काईएको ६ महिना भईसक्दा पनि स्थानीय निकायले कुनै चासो देखाएको छैन।

आफन्तहरुको घर जोगाउन विद्यालय तोडेको स्थानीयको आरोप


यस्तै सडक विस्तारको नाउँमा सार्वजनिक सम्पत्ति अतिक्रमण गरेर विद्यालय अगाडिको वडा कार्यालय र आफन्तहरुको घरजग्गा जोगाउँन विद्यालय भवन भत्काइएको स्थानीको आरोप छ।

वडा अध्यक्ष महासेठले राजनीतिक प्रतिशोध बोकेर विद्यालय सामुने रहेका वडा कार्यालय र आफन्तहरुको घरजग्गा बचाउन रातारात डोजर लगाएको स्थानीय बताउँछन् ।

कुर्थाका स्थानीयहरु मन्त्री रघुवीर महासेठ, नगरप्रमुख लालकिशोर साह र वडा अध्यक्ष महासेठले वडा कार्यालय र आफन्तहरुको घरजग्गा जोगाउन पुर्वाग्रही तरिकारले विद्यालय भवन भत्काइएको आरोप समेग लगाउँदै आएका छन्।

करिब ६०० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा गत वैशाख पहिलो साता वडाअध्यक्ष रामेश्वर महासेठको निर्देशनमा डोजर लगाई विद्यालयको दुईवटा भवनका ५ वटा कक्षाकोठा र पर्खाल भत्काइएको थियो।

धुलोधुवाँमा अध्‍ययनरत विद्यार्थी विरामी पर्दै


विद्यालयमा भवन नभएपछि विद्यार्थीहरु धुलो खाँदै कोलाहल वातावरणमा पढ्न बाध्य भएपछि उनीहरु विरामी पर्न थालेका छन् । शैक्षिक सत्रको सुरु भएको ६ महिना भन्दा बढी समय विद्यार्थी सडकमै पढ्न बाध्‍य बनेपछि धुलो धुवाले विरामी पर्न थालेका हुन। वडा कार्यालय तथा उप-महानगरपालिकाले कक्षा कोठाको व्यवस्थापनमा ध्यान नदिएपछि विद्यार्थीहरु विरामी हुन थालेको शिक्षक र स्थानीयहरुले आरोप लगाएका छन्।

विरामी विद्यार्थीहरुलाई रुघाखोकी, आँखा पाक्ने, श्वासप्रश्‍वासमा समस्या बढ्दै गएको छ। यसले उनीहरुको अध्‍ययनमा असर पर्दै आएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र यादवले बताए। उनले भने, ‘बैशाखमा सडक फराकिलो गर्ने नाममा विद्यालयको कक्षाकोठा भत्काइयो। तर त्यसको व्यवस्थान नभएर पूरै स्कुल अवस्था लथालिङ छ । हाम्रो पढाई समेत बिग्रिदै आएको छ। नियमित पढाई नहुँदा एसईई दिने विद्यार्थी बढि प्रभावित भएका छन्।’

उनका अनुसार मापदण्ड विपरीत वडा अध्यक्षले जबर्जस्ती विद्यालय भवन भत्काउँदा विद्यार्थीहरु विरामी पर्न थालेका हुन। यता विद्यालयको भवन भत्काएकै ठाउँमा हाल वडा कार्यालयको स्थापना गरिएको छ। सडकमा विद्यार्थी तथा शिक्षकहरूले मास्क लगाएर अध्ययन अध्यापन गराइरहेका छन्।

विरोध प्रर्दशको परिणाम शून्य


गत आइतवार कुर्थाका स्थानीले संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नगर प्रमुख लालकिशोर साह र वडा अध्यक्ष महासेठको बिरुद्धमा नारावाजी गर्दै प्रदर्शन गरेका थिए।

उनीहरु नक्सा र मापदण्ड विपरित जर्बजस्ती विद्यालय भवन भत्काएको भन्दै जनकपुरधाम उपमहानगरपालिका कार्यालयका साथै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका थिए।

तर, नाप नक्साका आधारमा उपमहानगरले गरेको निर्णय अनुसार उपमहानगरले तीन दिनको समय दिएको र त्यसै क्रममा प्रधानाध्यापक यादवले ७५ हजार रुपैँया तिरेर भवन भत्काएको वडा अध्यक्ष महासेठको भनाइ छ।

कात्तिक ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्