रामजानकी विवाहोत्सवका लागि ५० लाख दिने प्रदेश सरकारको निर्णय

जनकपुरधाम – रामजानकी विवाह पञ्चमी महोत्सव भव्यताका साथ मनाउन प्रदेश सरकारले ५० लाख दिने निर्णय गरेको छ।

शुक्रबार सम्पन्न मन्त्रिपरिषदको बैठकले हिन्दुहरुको महान उत्सव रामजानकी विवाहोत्सव विवाहपञ्चमीलाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको प्रदेश २ मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

यस्तै, प्रदेश सरकारले जनकपुर चुरोट कारखानाको परिसरमा रहेको प्रदेश सरकारको सचिवालयलाई मधेश भवन नामाकरण गरेको छ।

मन्त्रिपरिषदको आज सम्पन्न बैठकले जचुकाली भवन परिसरभित्र हाल कायम रहेको सचिवालयका भवनहरुलाई मधेश भवन घोषणा गरिएको हो।

एक महिना भित्र आवश्यक कर्मचारी पठाउन संघीय सरकारलाई आग्रह

मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले तयार पारेको कर्मचारी संगठनात्मक संरचना (ओएनएम) अनुसारको कर्मचारी एक महिनाभित्र पठाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको छ।

एक महिना भित्र संघीय सरकारले आवश्यक कर्मचारी नपठाए प्रदेश सरकारले आफै व्यवस्था गर्ने निर्णय समेत मन्त्री परिषदको बैठकले गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जनाएका छन्।

कात्तिक ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्