कूटनीतिक सम्बन्धका नयाँ दूत

नेपाली सिक्दै अमेरिकी राजदूत बेरी, जानौँ उनीबारे अरु केही कुराहरु

र्‍याण्डी डब्लु बेरी

दुई देशबिचको कूटनीतिक सम्बन्धमा नेपालका लागि अमेरिकी राजदूतको भूमिका उच्च रहने गरेको छ । अमेरिका नेपालका विकासको प्रमुख साझेदार मध्ये एक रहेकाले यहाँका लागि तोकिने राजदूतको कूटनीतिक सम्बन्धमा विशेष भूमिका रहन्छ ।

नेपालका लागि अमेरिकी राजदूतको रुपमा जिम्मेवारी सम्हाल्न आइपुगेका छन् र्‍याण्डी डब्लु बेरी । बेरीले गएको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै राजदूतका रुपमा औपचारिक काम सुरु गरेका हुन् ।

बेरीका लागि नेपाल नयाँ देश भने होइन । उनले यसअघि पनि नेपालमा काम गरेका थिए । उनी सन् २००७ देखि २००९ सम्म काठमाडौँ स्थित अमेरिकी दूतावासमा डेप्युटी चिफ अफ मिसन अर्थात नियोग उप–प्रमुखको रुपमा काम गरेका थिए ।

नेपाल आफ्ना लागि घर जस्तै


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका लागि राजदूतको रुपमा प्रस्तावित गरेपछि भएको संसदीय सुनुवाईको क्रममा बेरीले नेपाल आफ्ना लागि घर जस्तै रहेको बताएका थिए ।

आफ्नो गृह राज्य जस्तै नेपालको भौगोलिक विविधता र विविधताले भरिपूर्ण मानिसहरु, हिमशृङ्खलासहितका कुराले आफूलाई नेपाल घरजस्तै लाग्ने बेरीले सुनुवाईको बेला बताएका थिए । बेरीले अमेरिकी सुरक्षा तथा सहयोगका माध्यमबाट नेपाल–अमेरिका सम्बन्धलाई थप प्रभावकारी बनाउने बताउँदै आएका छन् ।

बेरीले नयाँ जिम्मेवारीका साथ फेरि नेपाल आउन पाएकोमा खुशी लागेको ओहोदाको प्रमाणपत्र बुझाइसकेपछि बताएका थिए ।

बेरीले त्यसक्रममा भनेका छन्, ‘नेपाल फर्किन पाउँदा र अमेरिका–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउने माध्यम बन्न पाउँदा निकै खुशी लागेको छ । नेपालका लागि नयाँ अमेरिकी राजदूत हुन पाएकोमा मलाई गर्व लागेको छ ।’ आफ्ना लागि कामले मात्रै नेपाल परिचित नरहेको बेरीले बताएका छन् ।

र्‍याण्डी डब्लु बेरी

उनी पहिलो पटक युवा अवस्थामा पर्यटकका रुपमा नेपाल आएका थिए । त्यो बेला काठमाडौँमा बसेका उनी झण्डै एक दशकअघि अमेरिकी नियोगमा काम गर्नका लागि आए र अहिले राजदूतका रुपमा ।

नेपालको सम्पन्न इतिहास र सांस्कृति सम्पदाका बारेमा विशेष चासो रहेको बताउने उनले नेपालीको विविधता, मूल्य मान्यता र आफ्नोपन बलियो पक्ष रहेको तथा यसैले अमेरिका–नेपाल सम्बन्धलाई बलियो बनाएको बताएका छन् । सबैको सहकार्यमा काम गर्नका लागि आफू तत्पर रहेको उनले उल्लेख गरेका छन् ।

अनुभव र व्यक्तिगत जीवन


श्रीमान प्रवेशका साथमा बेरी

बेरीको जन्म क्लोराडोको पहाडी क्षेत्रमा भएको हो । कानसास लिन्डसबर्गमा रहेको बेथनी कलेजबाट स्नातक गरेका उनले अमेरिकी विदेश विभागमा काम सुरु गर्नु पूर्व अमेरिका वेष्ट एयरलाइन्सको फोनिक्समा अन्तर्राष्ट्रिय तालिम व्यवस्थापकको रुपमा काम गरेका थिए ।

सन् १९९३ मा विदेश विभागमा जोडिएका उनले बंगलादेश, इजिप्ट, युगाण्डा, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, नेदरल्याण्डससहितका देशमा विविध पदमा रहेर काम गरेका छन् ।

नेपालका लागि राजदूतका रुपमा नियुक्त हुनुपूर्व उनी समलिंगी–तेस्रो लिंगी (एलजिबिटीक्युआई) अर्थात लैंगिक अल्पसंख्यको अधिकारको निमित्त विशेषदूतको रुपमा कार्यरत थिए । सन् २०१५ को फेब्रुअरीमा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनलाई विशेषदूतको रुपमा नियुक्त गरेका थिए ।

बेरी अमेरिकी सरकारले एलजिबिटीक्युआईको अधिकारको पक्षमा बोल्नका लागि नियुक्त गरेका पहिलो कूटनीतिज्ञ हुन् । यसक्रममा उनले एलजिबिटिक्युआई समुदायका व्यक्तिमाथि हुने हिंसा तथा विभेदका विपक्षमा बोले र त्यसका लागि सहयोग पनि गरे ।

श्रीमान प्रवेश तथा छोरा जान्डर र छोरी आर्याका साथमा बेरी

व्यक्तिगत जीवनको कुरा गर्दा बेरी आफै समलिंगी भएकाले पनि उनलाई अधिकारको वकालत बढी प्यारो बन्यो । उनका श्रीमान छन्, जसको नाम प्रवेश सिंह हो ।

दक्षिण अफ्रिकामा कार्यरत रहँदा बेरी र प्रवेशको भेट भएको हो । बेरी र प्रवेशका दुई सन्तान छन्, छोरा जान्डर र छोरी आर्या । अंग्रेजीसहित स्पेनिस र अरबी भाषा बोल्न जानेका बेरीले अहिले नेपाली भाषा पनि सिकिरहेका छन् ।

कात्तिक १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्