फोटो फिचर

रारा, वाह ! भन्छ जो पुग्छ त्यहाँ

निलो आकाश त्यो भन्दा निलो पानी । कहिँ कहिँ आकाशमा देखिने बादलका टुक्रा । बेला बेलामा उडेर परको अग्लो डाँडा पारी जान्छन् र देखिँदैनन् टुक्रा  बादल पनि। मात्र निलो आकाश देखिन्छ ।

वरिपरि हरिया सल्लोका रुख । त्यही सल्लोका रुखबाट आउने हावा र त्यो हावासँग तालमा ताल मिलाउने राराकाे छाल । छालबाट आउने कलल कललको आवाज ।

वाह ! भन्छ जो कोही त्यहाँ पुग्छ ।

रारा,

कात्तिकको महिना जाडो बिस्तारै बढ्दै छ मुगुमा । आकाश खुल्दै छ । त्यही खुलेको आकाश आफ्नो छातीमा देखाउँछ रारा । सल्लोका रुखले विस्तारै आफ्नो पात खसाल्दै छन् । मुगुको हुटुमा रहेको यो तालले मौसम र समय अनुसार रुप बदल्ने स्थानिय माझी बताउँछन् ।

माहोल चाडबाडको छ । रमाईलोको छ । यो चाडबाडमा केही फरक रमाइलो गर्न चाहनेका लागि रारा राम्रो गन्तव्य बन्नसक्छ ।

समुन्द्र सतहदेखि दुईहजार नौसय नब्बे मिटरको उचाईमा रहेको यो ताल एकसय ६७ मिटरसम्म गहिरो छ । नौ दशमलव आठ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो तालको अर्को विशेषता साउन भदौमा तालको वरिपरी फुल्ने फूल र हिउँ परेपछिको दृष्य पनि हो ।

त्यसैले ताल घुम्ने उत्कृष्ठ समय साउन–भदौ वा फागुन–चैत उत्कृष्ठ मानिन्छ । रारा पुग्नेहरुलाई त याे सुन्दरताले तान्छ नै । जान नपाउनेहरुका लागि त्यहाँकाे तस्बिरले पनि उसैगरी तान्छ ।