चरा अवलोकनका लागि उपयुक्त मौसम

कस्ता चरा हेर्न कहाँ जाने ?

चरा अवलोकन गर्न चाहनेका लागि अहिलेको समय उत्कृष्ट रहेको चराविदले बताएका छन् । रैथानेसहित जाडो छल्नका लागि आउने आप्रवासी चराको बसोबास नेपालका विभिन्न क्षेत्रमा रहेकाले यो समय चरा अवलोकनका लागि उत्कृष्ट रहेको चराविद डा. हेमसागर बरालले बताए ।

काठमाडौँ उपत्यकामा सिमसार र खेतीजन्य भूमिका पाइने चरा हेर्नका लागि चोभार तथा बागमती क्षेत्र उत्कृष्ट रहेको छ ।

विशेषगरी टौदह पोखरीमा सिमसार आक्षित चराहरु हेर्न सकिन्छ । यहाँ चिल, महाचिल, गिद्धसहितका चरा देखिने गरेको चराविद डा. बरालले बताए । यस्तै वनमा आश्रित चराका लागि फुलचोकी, गोदावरी आसपास र शिवपुरी नागार्जुन क्षेत्र उपयुक्त हुन्छ ।

सुनसरीको वर्जु ताल अहिले जलमा आश्रित चराका लागि राम्रो क्षेत्र रहेको चराविद डा. बरालले बताए । तराई क्षेत्रको कुरा गर्दा कोशीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज तथा लुम्बिनीका विविध क्षेत्रहरु चरा अवलोकनका लागि उपयुक्त छन् । विशेष गरी जगदिशपुर जलासय हिउँदे आप्रवासीसहितका सिमसारमा आश्रित चरालका लागि उपयुक्त रहेको छ ।

त्यो भन्दा पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज चराका लागि राम्रो गन्तव्य हो । जल पन्छीका लागि बर्दियाको बढैया ताल, जहाँ अहिले साइबेरीयादेखि आएका आप्रवासी चराहरु पनि छन् । यस्तै घोडाघोडी रामसार क्षेत्र, सुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहितका क्षेत्र वन र जलमा आश्रित चराका लागि उपयुक्त गन्तव्य हो ।

उच्च पहाडी क्षेत्रमा बस्ने चरा अहिले जाडो छल्नका लागि मध्य पहाडका क्षेत्रमा झरेकाले अहिलेको समय थप उपयुक्त हुन्छ ।

मध्य पहाडको पोखरा उपत्यका शिकारी चराका लागि नेपालको सबैभन्दा उपयुक्त क्षेत्र हो । यहाँ चिल, महाचिल, गिद्ध, बाज, भूईँचिलसहितका शिकारी चरा हेर्न पाइने शिकारी चराको क्षेत्रमा अनुसन्धान गर्दै आएका सन्देश गुरुङले जानकारी दिए ।

पोखरा उपत्यकामा मंगोलिया, साइबेरिया तथा रसियासहितका क्षेत्रबाट बसाईँ सरेर आएका विशेष गरी गोमायु महाचिल हेर्न पाइने शिकारी चराविद गुरुङले बताए ।

शिकारी चरा अवलोकनका लागि नोभेम्बर महिना सबैभन्दा उपयुक्त हुने उनले जानकारी दिए । पोखरा नजिकैको ठूलाखर्क क्षेत्र शिकारी चराका लागि राम्रो मानिन्छ । सन् २०१२ देखि यस क्षेत्रमा शिकारी चराको गणना हुँदै आएको छ । चराविद तुलसीराम सुवेदीको पहलमा नेपाल पन्छीविद संघ र हिमाली प्रकृतिको सहकार्यमा शिकारी चराको गणना हुँदै आएको हो ।

उच्च पहाडी क्षेत्रको कुरा गर्दा सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज चरा अवलोकनका लागि उपयुक्त रहेको चराविद डा. बरालले बताएका छन् ।

यो समयमा साइबेरियासहितका क्षेत्रबाट १५० भन्दा बढी प्रजातिका आगन्तुक चराहरु नेपालका विविध क्षेत्रमा रहेकाले यो समय चरा अवलोकनका लागि अति उपयुक्त रहेको चराविद डा. बराल र गरुङले बताए। चरा अवलोकनसँगै उनीहरुको संरक्षणमा पनि चासो दिनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

कात्तिक १०, २०७५ मा प्रकाशित