खोप लगाएको भोलिपल्टै बालकको मृत्यु भएपछि गाउँ तनावग्रस्त

आफन्त र स्थानीयबासीको प्रदर्शन।

नेपालगञ्ज – खोप लगाएको भोलिपल्टै बालकको मृत्यु भएपछि बाँकेको इन्द्रपुरमा तनाव भएको छ। जानकी गाउँपालिका–३ इन्द्रपुरबाट खटिएको टोलीले शुक्रबार रम्भापुर भन्ने गाउँमा बालबालिकालाई खोप लगाएको थियो।

बिहान साढे दश बजे खोप लगाएका ५० दिनका बालक साजन अलि नाउको आज शनिबार बिहान चार बजे मृत्यु भएपछि परिवार तथा स्थानीयले आक्रोश पोखेका हुन्।

बालकलाई शुक्रबार १०ः३० बजे डिपिटी, एफआइटिभी, पिसिबी र मुखबाट खुवाउने पोलियो थापा (ओपिभी) खुवाइएको थियो। दिउँसोभरि कुनै असर नदेखिएका बालकको राति सुतेको ठाउँमै मृत्यु भएको थियो। दूध खाएर सुतेका बालकको बिहान चार बजे मृत्यु भएको थियो।

बालकको मृत्यु भएपछि परिवार तथा स्थानीयले खोपका कारणले हो भन्दै आक्रोश पोखेका छन्। स्थानीयको भीडले खोप लगाउने स्वास्थ्यकर्मीलाई कारबाहीको माग गरेका छन्।

प्रहरीले आवश्यक अनुसन्धानका लागि खोप लगाउने अनमी सन्ध्या धिमाललाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ।

बच्चा जन्मिने बित्तिकै बिसिजी खोप लगाइन्छ। एक महिनापछि उल्लेखित खोप तथा पोलियो थोपा खुवाउने जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले बताए।

इन्द्रपुरको घटनामा खोप या अनमीको कमजोरीबारे बुझ्दै गरेको बताए। ‘खोप या स्वास्थ्यकर्मीको गडबडी भए तत्कालै या केही घण्टामै असर देखिन्छ, यो घटनामा त धेरै समय भइसकेको थियो,’ चन्दले भने।

जनस्वास्थ्य अधिकृत चन्दले यस्ता घटना बाहिर आएपछि बाल स्वास्थ्य महाशाखा, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु अनुसन्धान गर्न आउने बताए। यो घटनामा पनि भोलि या पर्सी नै विश्व स्वास्थ्य संगठन, बाल स्वास्थ्य महाशाखा र प्रदेश निर्देशनालयबाट अनुसन्धान टोली आउने चन्दले जानकारी दिए।

स्थानीयको आक्रोशलाई शान्त पार्न बिहानै जिल्लाबाट प्रहरी निरीक्षक रणबहादुर बिष्टको टोली घटनास्थलमा पुगेको थियो।

जम्मा भएका स्थानीयले खोप लगाउने व्यक्तिलाई आफुहरुसँग ल्याउन आग्रह गरेका थिए। प्रहरीले भीडमा कुनै अप्रिय घटना हुन सक्ने ठहर गर्दै अनमीलाई अनुसन्धानका लागि जिप्रकामा ल्याएको छ।

प्रहरीले परिवारका सदस्यलाई सम्झाई–बुझाई गरेर शवलाई पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा पठाएको छ। पीडित परिवार खोप लगाउने अनमीलाई कारबाही नहुँदासम्म शव नउठाउने अडानमा थिए।

कात्तिक १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्