राजाबाँस (उदयपुर)- एकातिर खोलानाला, अर्कातिर पहाडका भित्ता, त्‍यही भित्तामा विभिन्‍न कलात्‍मक सुसज्जित सुन्दर आकृतिहरु। झट्ट हेर्दा लाग्छ, ताज महलको आकृतिमा बनाइएका सुन्दर भवनहरु। तर, त्‍यो वास्तविक भवन भने होइनन्, यी हुन् प्रकृतिले प्रको ढिदान गरेका पहाडको भित्ताहरुमा माटोस्कोले आफै बनेका कलात्मक आकृतिहरु।

उदयपुरको त्रियुगा नगरपालिका वडा- ८ राजाबाँसमा अवस्थित शाही खोलाको किनारमा रहेको  उक्त सुन्दर महलको आकारलाई स्थानीयहरुले पहाडको भित्तामा बनाइएको  सामाजिक सञ्‍जाल फेसबुकमार्फत पोस्ट गरेपछि  हेर्न विभिन्‍न ठाउँबाट मानिसहरु हेर्न आउन थालेका हुन्।

 

प्राकृतिक रुपमा ताजमहलको आकृति भएको माटोमै महल बनेको सुन्दा गाईघाटबाट अटो रिक्सा नै रिजर्भ गरेरै हेर्न आउनेहरुको संख्‍या बढ्‍न थालेको छ। अटो रिक्सामा रिजर्भ गरेर आएकी अन्दाजी ६० वर्षीया वृद्धा विन्दा दाहालले भनिन्, ‘हामी त गाइघाटबाट अटो रिक्सा रिजर्भ गरेर प्रकृति प्रदत्त ताज महल हेर्न आएका हौँ। कस्तो राम्रो बनाएको रहेछ। गाउँघरका सुनाएभन्दा यहीँ आएर हेरेपछि झन मन सन्तुष्ट भयो।’यस्तै त्रिनपा-७ चुहाडेका स्थानीय कमल प्रसाद पोखरेलले अब यसलाई संरक्षण र संवर्द्धनको जिम्‍मा नगरपालिकाले स्थानीयले लिनु पर्ने बताउँछन्। उनी भन्छन्, ‘यस्तो प्रकृतिको अद्‌भूत देनलाई संरक्षण गरेनौ भने यो सुन्दर संरचना लोप हुन सक्ने सम्भावना रहन्छ।’

FEtjJWMBFkk

विराटनगरबाट टीका लगाउन आएका अन्जन काफ्लेले पनि आफूले सामाजिक सञ्जालमा थाहा पाएर प्राकृतिक ताज महलको स्वरुप हेर्न आएको बताए। उनीसँगै गाइघाट असारेबाट अलोकनगर्न आएकी सबिना राईले आफू पनि सोही फेसबुकबाट थाहा पाएर हेर्न आएको बताइन्। उनले भनिन् ‘ हामी त फेसबुकमा साथीहरुले पोस्ट गरेको फोटो हेरेपछि हेर्न आएका हौ।’

यस्तै सिन्धुलीबाट यही सुन्दर आकृतिलाई हेर्न आफू दसैँको टीकापछि यहाँ आएको राजकुमार बस्‍नेतले हर्षित भावमा भने ‘ म पनि फेसबुकमा राजाबासमा यस्तो प्राकृतिक दरबारको आकार भेटियो भन्‍दै फोटो हेरेपछि हेर्न आएँ।म त निक्‍कै खुसी छु।’ उनले अब यस्ता प्राकृति देनलाई हामी सबैले मिलर जोगाउनु पर्नेमा जोड दिए।

यता, प्राकृतिक ताज महल संरक्षण तथा सम्वर्द्धन समितिका अध्यक्ष राजकुमार दनुवारले प्राकृतिक रुपमा बनेको उक्त आकृति ३६ साल देखि नै उस्तै आकारमा अवस्थित रहेको बताउँछन्। उनी भन्छन् ‘हामी वाल्‍यकालदेखि नै यो प्राकृति आकृतिलाई देखेका हौ। त्‍यतिबेला यस्तो स्वरुपमा थिएन।तर अहिले पूर्ण रुपमा एउटा कलात्मक दरवारको स्वरुपमा आएको छ।’

उदयपुर लगायत सिरहा, सप्तरी लगायतका जिल्लाबाट समेत सर्वसाधारण ताज महलको अवलोकन गर्न आउने गरेको बताए पनि यसैका वडाका वडाध्यक्ष अहिलेसम्म पनि अवलोकन गर्न नआएको गुनासो सुनाए। उनले भने, ‘त्रियुगा नगरपालिका लगायत सिरहा, सप्तरीको साथै काठमाण्डौं, विराटनगर जस्ता ठाउँमा रोजगारीको सिलसिलमा रहेका र दशैं मनाउन गाउँ आएकाहरु प्राकृतिक ताजमहल हेर्न आउने गरेका छन्। उहाँहरुले फेसबुकमा राखेको फोटो हेरेर अरु जिल्लाका सर्वसाधारणहरु पनि हेर्नको लागि आइरहनु भएको छ। तर हाम्रो वडाअध्‍यक्ष ज्‍यू यति नजिक भएर पनि यसलाई संरक्षण र संवर्द्धन कसरी गर्ने भनेर चासो र चिन्ता लिनु भएको छैन। उहाँ हेर्न पनि आउनु भएको छैन। ‘

यता, त्रियुगा नपा.वडा -८ का वडाअध्‍यक्ष कमल कुमार राउतले आफूले पनि बाल्‍यकालदेखि नै यो प्राकृतिक आकृतिलाई नजिकबाट अवलोकन गर्दै आएकाले त्‍यतिबेला खासै चासो नलागे पनि अब भने प्राकृति देनलाई जोगाउनु पर्ने बताउँछन्। उनी भन्छन् ‘म त झनै बाल्‍यकालमा त्‍यही पाखामा खेलेर हुर्केको हुँ। त्‍यतिबेला हामीलाई खासै केही लाग्‍दैन्थ्यो उक्त आकृति देखेर।यस्तो स्वरुपमा पनि आएको थिएन।तर अब पुरै कलात्मक स्वरुपमा आएपछि र सबैले अवलोकन गर्न थालेपछि संरक्षण गर्नुपर्द्ध भन्‍नेमा हामी पुगेका छौ।’

उनले उक्त आकृति वडा नन्मब १६ को जंगलमा पर्ने भएकाले १६ को वडाअध्‍यक्षसँग संरक्षणका निम्‍ति कुरा गरिसकेको र नगरप्रमुखसँग पनि आन्तरिक र बाह्‍य पर्यटक प्रवर्द्धनको लागि पत्रमार्फत जानकारी दिइसकेको बताए। उनले भने ‘ शाही खोलाको किनार ८ वडा र प्राकृतिक आकृति बनेको पहाड १६  नम्बर वडामा पर्ने भएकाले अब ८ र १६ का वडाध्‍यक्ष मिलेर काम यसलाई जोगाउने योजना बनाएका छौ। हामी चाडै यसको संरक्षणमा जुट्‍दैछौ।’

 तस्बिरहरु-सहदेव चौधरी/देश सञ्‍चार