महिला मन्दिर पस्न पाउने फैसलाविरुद्ध भाजपा अध्यक्ष शाह, अदालतलाई नै दिए सल्लाह

भारतको केरलामा रहेको सबरीमला मन्दिरमा सबै उमेर समूहका महिलालाई प्रवेश गर्न दिनु पर्ने भन्दै सर्वोच्च अदालतले गरेको फैसलाको सार्वजनिक रुपमै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षले विरोध गरेका छन् ।

भाजपाका अध्यक्ष अमित शाहले सर्वोच्चको फैसलाविरुद्ध आन्दोलनमा रहेकाहरुको समर्थन गरेका हुन् । उनले शनिबार केरलामा अहिले आपतकाल जस्तो अवस्था रहेको भन्दै सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गरिरहेका भगवान अयप्पाका श्रद्धालुको समर्थन गरेका हुन् ।

सबरीमला मन्दिरमा १० देखि ५० वर्षसम्मका महिलामाथि प्रवेश निशेष रहेकोमा केही महिनाअघि सर्वोच्च अदालतले त्यसलाई हटाएको थियो ।

सर्वोच्चको फैसलापछि सबै उमेर समूहका महिला मन्दिर दर्शनका लागि जान प्रयास गरिरहेका छन् । तर विरोधमा रहेकाहरुले रोकिरहेका छन् । पछिल्ला केही दिनमा केरलाको प्रहरीले दुई हजार भन्दा बढी मानिसलाई पक्राउ गरेको छ ।

शनिबार केरलाको कन्नूरमा भाजपाको नयाँ जिल्ला कार्यालय उद्घाटन गर्न पुगेका अध्यक्ष शाहले भने, ‘राज्यको अवस्थामा भाजपा मुकदर्शक मात्रै बन्न सक्दैन । अहिले यहाँ श्रद्धालुहरु राज्य सरकारको कठोर रवैयाको सामना गर्न बाध्य छन् । भाजपा तथा आरएसएसका २००० भन्दा बढी कार्यकर्ता पक्राउ परेका छन् । हाम्रो पार्टीको समर्थन यी श्रद्धालुमा छ र वामपन्थी सरकारलाई सम्हालिन चेतावनी दिन्छु ।’

भाजपा अध्यक्ष शाहले अदालतलाई सल्लाह दिँदै व्यवहारिक र कार्यान्वयनमा ल्याउन सहज हुने खालका फैसला मात्रै दिनु पर्ने बताए ।

उनले पाँच करोड श्रद्धालुको विश्वासको विपक्षमा हुने गरी अदालतले फैसला गर्न नहुने बताएका हुन्। केरला सरकारले अयप्पा भक्तको अपमान गरेको आरोप पनि उनले लगाएका छन् ।

कात्तिक ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्