क्लब फुटबलको भव्य प्रतिस्पर्धा, एल क्लासिको

झण्डै ११ वर्षपछि रोनाल्डो र मेस्सी बिहीन एल क्लासिको

क्लब फुटबलमा विश्वकै भव्य प्रतिस्पर्धा अर्थात एल क्लासिको आइतबार हुँदैछ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको पहिलो एल क्लासिकोमा साबिक विजेता बार्सिलोना र युरोपियन अर्थात महादेशीय विजेता रियल मड्रिड आमने सामने हुँदैछ ।

राति बार्सिलोनाको मैदान क्याम्प नाउमा हुने खेल पछिल्ला केही वर्षयताको जस्तो भने हुने छैन । किनकी पछिल्लो दशक विश्व फुटबलमा दबदबा कायम गरेका दुई महान खेलाडी यो एल क्लासिकोमा हुने छैनन् ।

एल क्लासिको जति युरोपका दुई हस्ती क्लबको प्रतिस्पर्धा थियो त्यति नै यो समयका दुई महान खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबिचको उत्कृष्टता नाप्ने कसीको रुपमा पनि, कम्तिमा पछिल्लो एक दशकमा ।

तर आइतबार राति हुने एल क्लासिको दुई क्लबबिचको प्रतिस्पर्धा मात्रै हुनेछ । किनकी रोनाल्डो यहि सिजन रियल मड्रिड छोडेर इटालियन क्लब युभेन्टस गएका छन् र त्यता आफ्नो पुरानो लय सम्मात्दै गरेका छन् ।

यस्तै मेस्सी अहिले चोटका कारण मैदान बाहिर छन् । उनी ला लिगा अन्तरगतकै अघिल्लो हप्ताको खेलमा मैदानमा लड्दा दायाँ पाखुराको हड्डी फ्याक्चर भएको छ र खेल्न नसक्ने अवस्थामा छन् ।

यसको अर्थ एल क्लासिकाले रोनाल्डो र मेस्सी बिहीन हुँदैछ । रोनाल्डो भर्सेस मेस्सी ‘राइभरी’ मा हुने मजाका पारखीलाई आइतबार रातिको एल क्लासिको त्यति उत्साहप्रद हुनेछैन । तर दुवै क्लबलाई यो सिजन अघिल्ला वर्षको भन्दा खराब अवस्थाबाट माथि जान महत्वपूर्ण हुनेछ ।

त्यसमाथि यहि सिजन रियल मड्रिडको जिम्मेवारी सम्हाल्ने निर्णयका लागि हतारो गर्दा विश्वकपको मुखैमा स्पेनबाट बर्खास्त भएका प्रशिक्षक जुलियन लोपेतेगीका लागि त एल क्लासिको भविष्य निर्धारकको रुपमा हेरिएको छ । रियलले पछिल्ला खेलमा लगातार खराब प्रदर्शन गरेका कारण उनी दबाबमा छन् ।

झण्डै ११ वर्षमा रोनाल्डो र मेस्सी बिनाको एल क्लासिको गोलका कारण खल्लो हुनेछ । रोनाल्डो र मेस्सीले खेलेका ३० एल क्लासिकोमा भएका समग्र गोलमा झण्डै आधामा दुई खेलाडीको सहभागिता छ।

दुवै क्लबले गरेर ३० एल क्लासिकोमा १०१ गोल गरेकोमा मेस्सीले २० गोल गरे भने ११ गोलका लागि सहयोग गरे । यसैगरी रोनाल्डोले १८ गोल गरे भने एक गोलक ाल ागि सहयोग गरे । यसको अर्थ उनीहरु ५० गोलमा प्रत्यक्ष सहभागी भए ।

कुल एल क्लासिकोको कुरा गर्दा मेस्सी ३८ मा खेलेका छन् र २६ गोल तथा १४ गोलका लागि सहयोग गरेका छन् । मेस्सी एल क्लासिकोको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।

रोनाल्डोको भने क्लब छोडेकाले ३० खेल, १८ गोल र एक गोलका लागि सहयोगमै अडिएको छ ।