मुख्यमन्त्री गुरुङको ठहर

‘सामाजिक विकृतिविरुद्ध समुदाय र प्रहरी एकजुट हुनुपर्छ’

पृथ्वीसुब्बा गुरुङ।

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समुदाय र प्रहरीसँगै हातेमालो गर्दै समाजका विकृतिहरुका विरुद्ध एकजुट हुनुपर्ने बताएका छन्।

गुरुङले ‘हर प्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ देशैभरि एकैसाथ उद्घाटन भएको समुदाय प्रहरी साझेदारी उद्घाटन गर्दै अभियानमा प्रदेश सरकारको साथ रहेको बताएका हुन्।

प्रहरीको यस्ता जनमुखी अभियानले समृद्ध नेपाल र सुखी नेपाली भन्ने नेपाल सरकारको अवधारणामा अतुलनीय भूमिका निर्वाह गर्ने बताए। साथै उक्त अभियानको सफलताका लागि सवै सरोकारावाला पक्षको समेत उक्तिकै सक्रियता आवश्यक रहेको धारणा राखे।

सामुदायिक प्रहरीको दीगो विकास तथा संस्थाको विकासका लागि साथै प्रहरी, स्थानीय तह, समुदाय र विद्यालयको सहकार्यत्मक भूमिकाबाट विविध कार्य सम्पादन गरी समाजलाई सुसूचचित एवं विकसित र अपराधरहित बनाउने उद्देश्यले थालनी भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमको आइतबार उद्घाटन भएको छ।

त्यस्तै, गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरीबहादुर चुमानले समाजको हरेक पक्षको विकासका लागि सुरक्षा पहिलो आधार भएको बताए। उनले नेपाल प्रहरीको यस अभियानले आम नागरिकले आफुलाई सुरक्षित महसुस गर्नुका साथै प्रहरीप्रतिको जनविश्वास र आस्थामा बृद्धि हुनेमा जोड दिए।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले सामुदायिक प्रहरी साझेदारी अवधारणाका विषयमा बताए। उनले उक्त अवधारणा अन्तर्गत हालसम्म भएका गतिविधि, आगामी रणनीति, अन्य सरोकारवाला निकायको भूमिका र यसबाट समाजमा पर्ने सकरात्मक प्रभावका विषयमा जानकारी गराएका छन्।

कात्तिक ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्