प्रधानमन्त्री ओली अस्वस्थ

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको भनिए पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान तीनबजे तिर महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको डा. अरुण सायमीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको डा. सायमीले देश सञ्चारलाई बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको र आफूहरुले निगरानी गरिरहेको उनको भनाई छ । बिहान साढे ८ बजेपछि ओलीको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत जानकारी दिइने डा. सायमीले बताए । उनलाई आइसियुमा भर्ना गरिएको बताइएको छ ।

ओलीलाई केही दिनदेखि सन्चो भएको छैन । उनी अस्वस्थताकै कारण पार्टीले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा पनि सहभागी हुन सकेका थिएनन् ।

आइतबार उनका निजी सचिवालयले मौसमी रुघाखोकी रहेको भन्दै स्वास्थ्यमा त्यस्तो गम्भीर चिन्ता गर्नु पर्ने नरहेको बताएको थियो । तर राति स्वास्थ्य अवस्थामा खराबी देखिएपछि ओलीलाई शिक्षण अस्पताल लगिएको हो ।

भिआइपी आइसियुमा भर्ना भएका प्रधानमन्त्रीको उपचारमा चिकित्सक अरुण सायमी, दिलीप शर्मा, सन्तकुमार दास, शिक्षण अस्पतालका आइसियु इन्चार्ज चिकित्सक सुवास आचार्यसहित सामेल भएका छन् ।

कात्तिक १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्