छातीको संक्रमण : लक्षण र जोगिने उपायहरु

प्रधानमन्त्री ओलीलाई देखिएको छातीको संक्रमण के हो?

प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण देखिएको छ । केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

उनलाई सोमबार बिहान सबेरै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनको छातीमा संक्रमण देखिएको डा. अरुण सायमीले बताए । ओली अस्वस्थताकै कारण पार्टीले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा पनि सहभागी हुन सकेका थिएनन् ।

आइतबार उनका निजी सचिवालयले मौसमी रुघाखोकी रहेको भन्दै स्वास्थ्यमा त्यस्तो गम्भीर चिन्ता गर्नु पर्ने नरहेको बताएको थियो । तर राति स्वास्थ्य अवस्थामा खराबी देखिएपछि ओलीलाई शिक्षण अस्पताल लगिएको हो ।

छातीको संक्रमण


चिसोका बेला छातीको संक्रमण देखिने सम्भावना बढी हुन्छ । तर यो संक्रमण गर्मीका बेलामा पनि हुन खतरा भने रहन्छ । अधिकांश अवस्थामा छातीको संक्रमण आफै निको भएर जाने खालका हुने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताएका छन् ।

तर कुनै कुनै अवस्थामा भने यसले जटिलता पनि ल्याउन सक्छ । फोक्सो वा स्वास प्रस्वास नलीमा हुने संक्रमण छातीको संक्रमण हो । यसका कारण निमोनिया, ब्रोङ्काइटिससहितका समस्याहरु देखिन सक्छ ।

सबैमा छातीको संक्रमणको जोखिम रहे पनि दम तथा मुटु रोगी, मृगौलामा समस्या भएका, मधुमेह रोगीहरुमा यसको जोखिम अली बढी हुन्छ । प्रधानमन्त्री ओलीमा पनि मृगौलाको समस्या थियो ।

लक्षण


लगातार खोकी लाग्नु

रगत मिसिएको खकार आउनु वा खकार असामान्य रुपमा पहेँलो देखिनु (खोक्दा बढी बल गरेमा)

स्वासप्रस्वास तीव्र हुनु वा स्वाँ स्वाँ हुनु

मुटुको चाल बढी हुनु

छाती दुख्नु

ज्वरो आउनु

खानामा रुची नहुनु

टाउको दुख्नु

आलस्य हुनु आदी

के गर्ने ?


खोक्दा बल गर्नु हुँदैन

डब्लुएचओले गरेको खोप लगाउने

छाती घ्यारघ्यार गर्न थाल्यो भने अस्पताल जाने, घरेलु उपचारको भर गरेर नबस्ने

अंग प्रत्यारोपण गरेकाहरु र रोगसँग लड्ने क्षमता कम भएकाहरुले अली बढी ख्याल गर्नु पर्छ

डाक्टरको निगरानीमा उपचार वा परमर्श लिने

झोलिलो पदार्थ पर्याप्त मात्रामा खाने

आराम गर्ने

कात्तिक १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्