सुदूरपश्चिम प्रदेशमा इन्धनको खपत बढ्यो, भण्डारण क्षमता बढेन

धनगढीमा इन्धनका लागि लागेको लाईन । भण्डारण क्षमता नबढ्दा बेलाबेलामा सुदूरपश्चिम प्रदेशमा इन्धनको अभाव हुने गरेको छ । तस्बिर: दिनेश ठकुल्ला /देश सञ्चार ।

धनगढी – सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको खपत बर्सेनि ३० देखि ४० प्रतिशतले वृद्धि भइरहेको छ तर माग अनुसारको भण्डारण क्षमता नहुँदा बेला बेला इन्धनको अभाव भइरहने  समस्या छ ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले देशको समग्र पेट्रोलियम पदार्थको खपत २० देखि २२ प्रतिशतले वृद्धि भएका बेला सुदूरपश्चिम प्रदेशमा ३० देखि ४० प्रतिशले वृद्धि भएको जनाएको छ ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा सडक, पुल, जलविद्युत परियोजना लगायत अन्य भौतिक पुर्वाधारको विकास बढेसँगै पेट्रोलियम पदार्थको खपतमा पनि वृद्धि भएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सर्पराज शर्माले बताए ।

सबैभन्दा बढी हवाई इन्धनमा वृद्धि


सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी हवाई इन्धनमा १ सय ३७ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा १० हजार ७ सय ३२ लिटर इवाई इन्धन खपत भएकोमा २०७३/७४ मा ५५ प्रतिशतले वृद्धि भई ९ लाख २५ र २०७४/७५ मा १ सय ३७ प्रतिशतले वृद्धि भई २१ लाख ८० हजार लिटर खपत भएको नेपाल आयाल निगमको तथ्याङले देखाएको छ ।

पेट्रोल र डिजेल पनि बढ्दै


नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीबाट आर्थिक वर्ष २०७२/७३ मा ९० लाख ३६ हजार किलोलिटर पेट्रोल खपत भएकोमा २०७३/७४ मा १ करोड ३४ लाख र २०७४/७५ मा १ करोड ७५ लाख ५२ हजार लिटर खपत भएको छ ।

त्यस्तै डिजेल आर्थिक वर्ष २०७२/७३ मा ४५ करोड ७३ लाख किलो लिटर बिक्री भएकोमा २०७३/७४ मा ४० प्रतिशतले वृद्धि भई ६४ करोड २८ लाख विक्री भएको छ ।

धनगढीमा रहेको नेपाल आयल निमगको क्षेत्रिय कार्यालय । तस्बिर: दिनेश ठकुल्ला /देश सञ्चार ।

आर्थिक बर्ष २०७४/७५ मा २४ प्रतिशतले वृद्धि भएको डिजेल खपत ७९ करोड ८२ लाख पुगेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शर्माले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय विकास निर्माणले गति लिएँसँगै पेट्रोलियम पदार्थको खपत बढेको उनले बताए ।

केहीवर्ष पहिले अन्य प्रदेशको तुलनामा थोरै पेट्रोलियम पदार्थको खपत गदै आएको सुदूरपश्चिम प्रदेशमा अहिले देशमा नै १० प्रतिशत बढी पेट्रोलिम पदार्थको खपत बढाएको आयल निगम क्षेत्रीय कार्यालयको दाबी छ ।

अझै पनि मट्टितेल प्रयोग


सुदूरपश्चिम प्रदेशमा खाना पकाउने एलपी ग्यासमा पनि वृद्धि भएको छ । ग्यासमा ३ वर्ष पहिलेको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको छ ।
एलपी ग्यास आर्थिक वर्ष २०७२/७३ मा ४ हजार ३ सय ७२ मेट्रिकटन ग्यास खपत भएकोमा २०७३/७४ मा ३१ प्रतिशतले वृद्धि भई ५ हजार ९ सय ४२ मेट्रिकटन ग्यास खपत भएको छ ।

त्यस्तै २०७४/७५ मा ३१ प्रतिशतले वृद्धि भई ७ हजार ८ सय २८ मेट्रिकटन ग्यास खपत भएको छ ।

मट्टितेल आयतमा २०७३/७४ मा २१ प्रतिशतले घटेको मा २०७४/७५ आइपुग्दा ४२ प्रतिशतले वृद्धि भएको छ । अहिले पिच सडक निर्माण र सुरक्षा निकायका भान्सामा खाने पकाउने बेला मट्टितेलको प्रयाग गरिने हुँदा मट्टितेलको आयात बढेको हो ।

बढेन भण्डारण क्षमता


पेट्रोलियम पदार्थको आयात र खपत बर्सेनि बढ्दै गएपनि भण्डारण क्षमता नहुँदा भने समस्या देखिएको छ ।

भण्डारण क्षेत्र बढाउनका लागि निगमले योजना बनाएपनि जग्गा प्राप्त नहुँदा समस्या देखिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शर्माले गुनासो गरे ।

नेपाल आयल निगम क्षेत्रिय कार्यालय धनगढीमा रहेको भण्डारण गृह । तस्बिर: दिनेश ठकुल्ला /देश सञ्चार ।

सुदूरपश्चिम प्रदेशमा दैनिक रुपमा खपत हुने पेट्रोलियम पदार्थका लागि समेत भण्डारण क्षमता नहुँदा बेला बेलामा पेट्रोलियम पदार्थको अभाव हुने गरेको छ ।

कात्तिक १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्