योगी विकाशानन्दको सामाजिक अभियान

असहाय केन्द्रकाे सहयोगार्थ नेपालगञ्ज र भारतको श्रीवस्तीमा कार्यक्रम

नेपालगञ्ज – नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्र, नेपालगञ्जको सहयोगार्थ डा. योगी विकाशानन्द र रेकी दिक्षा प्रशिक्षक कमलेश्वरीले नेपालगञ्ज र भारतको श्रीवस्तीमा विविध कार्यक्रम गर्ने भएका छन्।

योगी विकाशानन्द र कमलेश्वरीले कात्तिक १५ देखि २० गतेसम्म नेपालगञ्ज र भारतको श्रावस्तीमा कार्यक्रम गर्नेछन्। नीलसागरका सञ्चालकहरुले सोमबार पत्रकार सम्मेलन गरेर सो बारेमा जानकारी दिएका हुन्।

नीलसागरका प्रमुख अभिभावक विजयकुमार गुप्ताका अनुसार १५ गते बागेश्वरी मन्दिरमा सकारात्मक सोच कार्यशाला, १६ गते सहज सरल योग ध्यान योगविधि, १७ गते होटल सिटी प्यालेसमा परिणाममुखी प्रणायाम, १८ गते भारतको श्रावस्तीमा बुद्ध शिक्षा–ज्ञान, १९ गते नेपालगञ्जको नर्सिङ अस्पताल हलमा महाज्ञान साधना र २० गते बागेश्वरी मन्दिरमा रेकी उपचार विधि सिकाइने छ।

यी सबै कार्यक्रममा सहभागी हुनका लागि पैसा लाग्दैन। कार्यक्रमले जीवनदेखि भाग्ने, आफैँसँग डराउने, आफैँलाई नबुझ्ने, खुशी हुन नसक्ने, युवाहरु भड्किने, बच्चाहरु बिग्रिने सवालहरुमा केन्द्रित रहनेछ।

वि.सं. २०७३ असोज १२ गतेदेखि नेपालगञ्जमा सञ्चालन गरिएको नीलसागर अहिलेसम्म दान दक्षिणा र सहयोगबाट चलिरहेको छ।

नीलसागरका सञ्चालक सरिता खनाल र अमन सुवेदीले तीन वर्षमा आश्रमबाट ८० जनालाई घरमा पुनर्स्थापना गरिसकेको जानकारी दिए। अहिले त्यहाँ ४० जना रहेका छन्।

नीलसागर विभिन्न व्यक्तित्वहरुको सहयोगले आफ्नै भवन बनाउने तर्खरमा जुटेको छ। ‘कैलाश भवन’ नाम दिएर बनाउन थालिएको भवनका लागि छत्रकुमारीले दुई कठ्ठा जग्गा दिएकी छन्।

त्यही सय जना अट्ने भवन बनाउने तयारी भएको छ। सरकारी निकाय, सांसद तथा मन्त्रीहरुले पनि व्यक्तिगत रुपमा सहयोगको बचन दिएका छन्।

कात्तिक १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्