यसरी सुरु भएको थियो नेपालमा मनोज-समिर गुन्डा आतङ्क

गौचन हत्या प्रकरणका तीन अभियुक्त।

काठमाडौँ- काठमाडौँको बाफल क्षेत्रमा सक्रिय गुन्डा आतङ्कका नाइके समिरमान सिंह बस्नेत आफ्ना मिल्ने साथी कुमार घैँटे प्रहरी इन्काउन्टरमा मारिएपछि तीन वर्षअघि भारततर्फ लागेका थिए। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गुन्डा नाइके घैँटेलाई इन्काउन्टर गरेको थियो।

त्यतिबेला महाशाखाका प्रमुख अहिलेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थिए। त्यसको एक वर्षअघि मात्र अहिलेका एआइजी पुष्कर कार्की नेतृत्वको महाशाखाले अर्का गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर गरेको थियो।

एकपछि अर्का गुन्डा नाइकेको इन्काउन्टर हुन थालेपछि समिरमान भारतमा लुक्न गएका थिए जहाँ उनको भेट भएको थियो मनोज पुनसँग। रुपन्देहीमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीमाथि आक्रमण गरेर मनोज भारततर्फ लागेका थिए। आक्रमणमा घाइते भएका दुर्गा ठेक्कापट्टामा पनि सक्रिय थिए। युवा संघकै कार्यकर्ता रहेका मनोजको दुर्गासँग रिस मरेको थिएन।

उच्च प्रहरी अधिकारीसँग पहुँच र बलियो पृष्ठभूमि भएपनि  नेपालमा बस्न नसकेका समिर भारतमा बसेर नेपालमा पैसा उठाउने धन्धा गर्ने र आतङ्क सिर्जना गर्न चाहन्थे। उता मनोजले भारतमा बसेर रुपन्देहीका ब्यवसायीलाई धम्की दिने र उनीहरुसँग पैसा उठाउने काम गर्दै आएका थिए। मनोजको सम्पर्कमा थिए भगौडा आर्मी श्याम गुम्बे र सोम आलेलगायत। परेको ठाउँमा मनोजलाई उनीहरुको साथ थियो।

त्यसअघि पनि मनोज र समिरबीच सामान्य चिनजान थियो। नेपालमा गुन्डाहरु बस्न अप्ठेरो हुन थालेपछि मनोज र समिरको एउटै समूह बन्यो र एउटै उद्देश्य पनि- नेपालमा ब्यवसायीबीच आतङ्क मच्चाउने र फिरौती असुल्ने। उनीहरुको आतङ्क सिर्जना गर्ने योजनाअनुरुप करिब दुई वर्षअघि रुपन्देही युवा संघका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या भयो। यसमा मनोजको व्यक्तिगत प्रतिशोध मुख्य कारण थियो।

तिवारीको हत्यामा प्रयोग भएका थिए लोप्साङ लामा। कहाँको हो भन्ने स्पष्ट पहिचान नभएका लोप्साङ, नेपालमा रहँदा समिरका बडिगार्ड थिए। भारतको सिलगुढीमा लोप्साङको जेठी श्रीमती र काठमाडौँको कपनमा कान्छी श्रीमती रहेको बताइन्छ। तर उनी अधिकांश समय स्वयम्भूस्थित दिदीको घर र आसपासका क्षेत्रमा बस्थे। यही क्रममा समिरसँग नजिकिएका थिए लोप्साङ।

तिवारीको हत्या गरेपछि लोप्साङ पनि मनोज र समिरसँगै मिसिन भारत पुगे। त्यसअघि तिवारीको हत्या गरेपछि करिब दुई महिना उनी काठमाडौँमै बसेका थिए। प्रहरी अनुसन्धानबाट लोप्साङको भूमिका देखिएपछि उनी स्वयम्भूबाट भागेर कपनमा गएर लुकेको र त्यहाँबाट भारततर्फ लागेको प्रहरी स्रोत बताउँछ। समिर र मनोज दुवैको सम्पर्कमा पुगे नेपाल आर्मीका भगौडा अमरबहादुर राना। उदयपुरका ३१ वर्षीय अमर करिब चार वर्षअघि आर्मीबाट भागेका हुन्। श्याम गुम्बेमार्फत उनी मनोजको सम्पर्कमा पुगेका थिए।  मनोज-समिर समूहले सीमा क्षेत्र र राजधानीका समेत ब्यवसायीलाई निकै दुख दिने र पैसा नदिए ज्यान मार्ने धम्की दिन थालिसकेका थिए।

करिब १८ महिनाअघि नयाँ बस्ती,बौद्धमा गुन्डा नाइके दावा लामामाथि भएको गोली प्रहार समिरकै योजनामा अमर संलग्न थिए। त्यतिबेला लोप्साङले फोन गरी मनोज पुन समूहले यो घटना गराएको दाबी गरेका थिए। अनुसन्धानमा खटिएका प्रहरी अनुसार दाबासँग समिरको व्यक्तिगत टकराव र नेपालमा आफ्नो गुन्डागिरीको हैसियत देखाउन यो घटना घटाएको बताउँछन्। अमरले केही महिनाअघि गौशालामा गणेश लामालाई समेत गोली प्रहार गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो।

गत वर्षको असोजमा राजधानीको शान्तिनगरमा दिउँसै निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गरी भएको हत्या समिरकै योजनामा अमरले गोली हानेको महाशाखाको दाबी छ। त्यतिबेला पनि लोप्साङले फोन गरी मनोज पुन समूहले हत्या गरेको जिम्मा लिएका थिए। गौचनसँग कुमार घैँटेको ब्यापारिक साझेदारीका विषयमा समिरले हिस्सा खोजेपनि नपाएपछि गौचनको हत्या योजना बनेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआइबीको टोलीले गिरोहका प्रमुख नाइके समिरलाई गत मंसिरमा भारतबाट पक्राउ गरेको थियो। त्यसको एक महिनापछि रुपन्देहीमा व्यवसायी बसन्त पौडेल ‘बल्लु’को दिउँसै गोली हानी हत्या भए पश्चात त्यसको जिम्मा लोप्साङले नै लिएका थिए। त्यसको एक महिनापछि मनोज र उनका सहयोगी सोमबहादुर आले प्रहरी इन्काउन्टरमा चितवनमा मारिएका थिए।

गौचन हत्याकान्डमा गठिन छानबिन समितिले मनोज पुनको पनि संलग्नता रहेको बताएको थियो। तर, सीआइबीको टोलीले गौचन हत्या हुनुअघि नै मनोजले समिरको समूह छाडेको बताएको थियो। विषेश गरी समिरसँग जुँगाको लडाइँ, आर्थिक विवाद लगायत कारणले मनोज त्यतिबेला छुटिएको बताइन्छ।

नेपालमा पुनभन्दा पनि समिरको खतरा बढी रहेको स्वयं प्रहरी अधिकारीहरु बताउँछन्। दुवै जना सँगै रहँदा पनि भएका हत्या कान्डमा समिरकै सहयोगीहरुको बढी प्रयोग भएको अनुसन्धानमा खटिएका प्रहरी बताउँछन्।

काठमाडौँको नागार्जुनका २६ वर्षीय रोशन बुढाथोकीले मनोज-समिरका योजनाको नेपालमा रहेर संयोजन गर्ने काम गरेको महाशाखाको दाबी छ। प्रहरीका अनुसार रोशन, समिरका दाइका भदा हुन्। मुम्बईमा पनि घर भएका रोशनका बुवा केही समय अघिमात्र लागूऔषधको मुद्धामा जेलबाट छुटेका थिए।  प्रहरीले समिरमानकी श्रीमती माया शेरचनको भूमिका पनि शंकास्पद रहेको भन्दै अनुसन्धान अगाडि बढाएको छ।

हत्याका घटनामा अमरलाई हतियार उपलब्ध गराउने र पछि बुझ्ने काम मायाको नै रहेको प्रहरीको दाबी छ। बाफल क्षेत्रमा गुन्डागर्दी हुँदै पछि ठेक्कापट्टामा हात बढाएका समिर सोह्रखुट्टे क्षेत्रमा हवाई फायरिङ गर्दै हिँडेपछि चर्चित बनेका थिए। समिरले मायासँग विवाह गरेपछि उनी थप चर्चित बनेका थिए। यो समूह सन्चालनमा मायाको भुमिका त्यतिबेला महत्वपुर्ण रहेको अधिकारीहरु बताउँछन्।

गौचन हत्या कान्डमा अझै दुई जना फरार छन्। कुनै समय रमेश बाहुन समूह नजिक रहेका गंगा लिङ्देन र समिरकै नातेदार अजय थापा पक्राउ पर्न सकेका छैनन्। महाशाखाले राजधानीमा शृंखलाबद्ध हत्याको योजना बनिरहेका बेला अमर, रोशन र लोप्साङलाई पक्राउ गर्न सफल भएको दाबी गरेको छ। ‘राजधानी र देशभर जतिबेला पनि उनीहरुले घटना घटाउन सक्थे। चर्चित व्यक्तिहरु समेत उनीहरुको निशानामा थिए। आतङ्क सृजना गर्ने र ब्यवसायीबाट रकम असुल्ने उनीहरुको योजना देखिन्छ’,  यो समूहमाथि लामो समयदेखि अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारी भन्छन्।

कात्तिक १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्