दसैँ छुट्टी सुरु भएदेखि नै समूद्र सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाईमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शन गर्न जानेको लहर लामै छ। बिहानदेखि बेलुकासम्ममा दैनिकजसो १ हजारभन्दा धेरैले पाथीभरा मन्दिरमा दर्शन गर्न पुग्छन्।

प्रायः दसैँतिहार र हिउँदे बिदा सदुपयोग गर्नका लागि पाथीभरा दर्शन गर्न जानेहरु भेटिन्छन्। छोटो र अनुपम यात्राका लागि पाथीभरा धाम पनि उपयुक्त गन्तव्य हुनसक्छ।

नेपालको पहिलो घामको झुल्को पर्ने जिल्लाको रुपमा परिचित यो सुदूर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ।

जिल्लाको सबैभन्दा प्रसिद्ध कञ्चनजंघा र धार्मिक आस्थाकी धरोहर पाथीभरा देवी साक्षत शक्तिपीठ हुन्। वर्षायाम सकिएपछि आन्तरिक र बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ पाथीभरा मन्दिरमा।

पाथीभरा मन्दिर। तस्बिरहरुः टुरुप संग्रौला

आफ्नो मनोकांक्षा हुने अभिप्रायले पाथीभरा मन्दिरमा पूजाआजा गर्न राजधानी काठमाडौँ, विराटनगर, पोखरा, भारतको आसाम, दार्जीलिङ र तेस्रो देशका पर्यटकहरु यहाँ आउने गरेको पाथीभरा संरक्षण तथा विकास समितिका अध्यक्ष तारा घिमिरेले बताएका छन्।

पदयात्रा र प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेहरुका लागि पनि सुरक्षित र आरामदायी गन्तव्य हुने उनको धारणा छ।

मनोरम प्राकृतिक वातावरण


पाथीभरासम्मको पदयात्रामा प्राकृतिक सौन्दर्य दुर्लभ जीवजन्तु तथा वनस्पतीको बेजोड संगमस्थल पाइन्छ।

पाथीभरा मन्दिर धेरै उचाईमा रहेकाले यहाँबाट विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमश्रृङ्खला, कुम्भकर्ण, मकालु, काङ्वाचेन, लोत्से हिमालको दृश्यावलोकन गर्न सकिने अध्यक्ष घिमिरेले बताए।

यसबाहेक राष्ट्रिय पंक्षी डाँफे, नेपालमा मात्र पाइने काँडे भ्याकुर लगायत २ सयभन्दा बढी प्रजातिका चरा, १ सय ५२ प्रजातिका फूल, २८ प्रजातिका लालीगुराँस, दुर्लभ रेडपाण्डा, चितुवा, हिमाली कालो भालुलगायत तीन दर्जनभन्दा बढी जङ्गली जनावर पाइने जानकारहरु बताउँछन्।

ताप्लेजुङका पत्रकार केशव लामाका अनुसार यो क्षेत्रमा पाँचऔंले, कुड्की, जटामसी, चिराइतो जस्ता ५० भन्दा बढी प्रजातिका बहुमुल्य जडिबुटी पाइन्छ।

उदाउँदो र अस्ताउँदो घामको दृश्यावलोकन, जैविक विविधता अनुसन्धाताहरुका लागि प्राकृतिक संग्रालयका रुपमा यो क्षेत्र मानिन्छ।

विशेषता र किम्बदन्ती


पाथीभरा देवीलाई साक्षत देवीका रुपमा मानिन्छ। यसको अवस्थिति अन्न भरेको पाथी जस्तै आकृतिको भएकाले नै पाथीभरा भनिएको कथन रहेको छ।

देवीको उत्पतिसम्बन्धी किम्बदन्ती अनुसार भेडी गोठालाले गोठ पाथीभरामा सारेका बेला उनको सबै भेडाहरु हराएपछि उनी चिन्तित भएका थिए।

राति देवीले आत्मबोध गराउँदै भेडा बलीसहित पूजाअर्चना गर्न निर्देशन दिएपछि उनले सोही अनुसार वलीसहित पूजा गरेपछि हराएका सबै भेडा फेलापरेका थिए। त्यसपछि देवीलाई साक्षत देवीको रुपमा पूजा अर्चना गर्ने प्रचलन रहिआएको धार्मिक मान्यता छ।

परम्परागत मान्यता अनुसार ‘आफ्नो मनोकांक्षा पूरा गराउने’ भनेर परिचित यहाँ नौरथा सुरु भएपछि दर्शनार्थीहरूको घुइँचो लाग्छ। यहाँ पशुबली अनिवार्य नभए पनि दर्शनार्थीहरुले बली चढाउन सक्छन्।

यात्रा कसरी सुरक्षित हुने?


पाथीभरा ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेकाले तापमान प्रायः शुन्य डिग्रीमा हुन्छ। टाउको दुख्ने तथा केही असहज हुने भए पनि खासै चिन्ता लिनु पर्दैन। त्यस्तो विभिन्न हिमाली फूलहरुको बासनाका कारणले हुनसक्छ।

दर्शनार्थीहरुले लेक लाग्नबाट जोगिन घरेलु उपचारका सामग्रीहरु तातोपानी, भुटेका मकै, अदुवा, लसुन गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरु बोक्नुपर्छ।

आवश्यक पर्ने सामग्री


क्यामरा, मोबाइल, औषधि, लौरो।

गन्तव्य


सडक मार्ग २ सय ३७ किलोमिटर रहेको छ। ताप्लेजुङको पाथीभरा विभिन्न मार्ग हुँदै पुग्न सकिन्छ। झापाको बिर्तामोडदेखि ताप्लेजुङसम्म पुग्न ७ सय ५० रुपैयाँ भाडा लाग्छ।

फुङलिङ बजारबाट सानोफेदीसम्म पुग्न ३ सय रुपैयाँ भाडा लाग्छ। त्यसपछि करिब २ घण्टाका पाथीभरा पुग्न सकिन्छ।

हवाई मार्ग


काठमाण्डौंदेखि ताप्लेजुङ।
विराटनगरदेखि ताप्लेजुङ सुकेटार।

होटल तथा लज


सानोफेदी, ठूलोफेदी लगायतका स्थानमा खाना छाकको २ सयदेखि २ सय ५० सम्म रुपैयाँ र लजका लागि ५ सय रुपैयाँसम्म तिर्नु पर्छ।

साथै, याक, चौँरी, गाई, भैँसी र भेडाको दही, ध्यूलगायतको परिकार पाउन सकिन्छ।