लायन एयरको जेट विमान दुर्घटना

नयाँ जहाज कसरी दुर्घटनामा पर्न सक्छ ?

१८९ जना सवार लायन एयरको फ्लाइट जेटी ६१० विमान इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको केही मिनेटपछि नै समुद्रमा खस्यो । बोइङ्ग ७३७ म्याक्स ८ दुर्घटनामा परेपछि चासो र चिन्ता बढेको छ, किनकी यो नयाँ विमान थियो ।

बोइङ्ग ७३७ म्याक्स ८ विमान दुर्घटनामा परेको यो पहिलो घटना हो । विमान दुर्घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ र कारण विस्तृत अनुसन्धानको प्रतिवेदन नआएसम्म पुष्टि हुने छैन ।

विमान दुर्घटना प्रायः गरी प्राविधिक तथा मानवीय दुवै कारणले हुने गरेको छ । तर यो विमान नयाँ भएकाले त होइन भन्ने पनि लागेको छ । बोइङ्ग ७३७ म्याक्स ८ सन् २०१७ देखि व्यवसायिक प्रयोगमा आएको हो ।

तुलनात्मक रुपमा सस्तो दरमा उडान भर्दै आएको लायन एयरले गएको जुलाईमा इन्डोनेसियामा यो विमान पहिलोपटक ल्याउन एयरलाइन्स बन्न पाएकोमा गर्व लागेको बताएको थियो । सोमबार दुर्घटनामा परेको विमान गएको अगस्ट १५ देखि मात्रै प्रयोगमा ल्याइएको थियो ।

अहिलेसम्म यो विमानले ८०० घण्टा मात्रै उडान भरेको थियो । पाइलटले उडान भरे लगत्तै फर्किनका लागि एयर ट्राफिक कन्ट्रोल जकार्तासँग अनुमति मागेको बताइएको छ । अहिले विमानमा अघिल्लो दिन अर्थात आइतबार नै उडानको क्रममा केही प्राविधिक समस्या देखिएको खुलेको छ ।

प्रायः गरी पुराना विमानहरु दुर्घटनामा पर्ने सम्भावना बढी हुने गरेको उड्डयन विश्लेषक जेरी स्वज्याटम्यानले बिबिसीलाई बताएका छन् । तर निकै नयाँ विमानमा पनि समस्या हुन सक्ने उनले बताए ।

उनले भनेका छन्, ‘यदी विमान नयाँ छ भने केही खराबी भए तत्कालै नदेखिन पनि सक्छ, केही समयको उडानपछि मात्रै समस्या बाहिर देखिन थाल्छ । पहिलो तीन महिनामा यस्ता समस्या समाधान गर्नु पर्छ ।’

सोमबार दुर्घटनामा परेको विमान सञ्चालनमा आउको केही हप्ताअघि मात्रै तीन महिना पुगेको थियो ।

उड्डयन सम्बन्धी प्रकाशन द एयर करेन्टका अर्का विश्लेषक जोन ओस्ट्रोवेरका अनुसार नयाँ विमानमा जहिले पनि केही नयाँ प्राविधिक समस्या आउने सम्भावना हुन्छ र यो सामान्य पनि हो तर यो नै कारण हुन भने सक्दैन ।

सोमबार दुर्घटना भएको विमानमा के खराबी भयो भन्ने बारे अहिले नै निष्कर्षमा पुग्नु हतारो हुने दुवैले बताएका छन् ।

कात्तिक १३, २०७५ मा प्रकाशित