पत्रकार जमाल खाशोग्गीकी फियोन्सी हटिचे जेनगिज
पत्रकार खाशोग्गीकी फियोन्सीको आग्रह

‘ट्रम्पले हत्याको कभर–अपका लागि मार्ग प्रसस्त गर्नु हुँदैन’

हत्या गरिएका पत्रकार जमाल खाशोग्गीकी फियोन्सी हटिचे जेनगिजले घटनाको सत्यतथ्य बाहिर ल्याउन सहयोग बाहिर ल्याउन आग्रह गरेकी छन् । साउदी अरेबियाका पत्रकार खाशोग्गीको टर्कीको स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा पसेपछि हत्या भएको हो ।

अक्टोबर २ मा फियोन्सी हटिचेसँग विवाहका लागि कागजी प्रक्रिया मिलाउन भन्दै गएका खाशोग्गी बेपत्ता भएका थिए । उनको हत्या भएको भनिए पनि सुरुमा साउदी अरेबियाले यसबारे कुनै जानकारी नरहेको बताएको थियो । तर अन्तर्राष्ट्रिय दबाब बढ्दै गएपछि साउदीले उनको मुक्का हानाहानमा मृत्यु भएको बतायो ।

त्यसको दुई दिनपछि उनको हत्या भएको र त्यसमा खराब मनसाय भएका एजेन्टहरुको संलग्नता रहेको भन्दै अर्को बयान साउदी दियो । साउदीले फेरेको बोलीमा धेरैले विश्वास गरेका छैनन् ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टका लागि लेख्दै आएका खाशोग्गी साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानको कडा आलोचक हुन् । यहि कारण उनकै निर्देशनमा खाशोग्गीको हत्या भएको आशंका गरिन्छ । तर साउदी सरकारले यसमा क्राउन प्रिन्सको कुनै संलग्नता वा जानकारी नरहेको बताएको छ ।

टर्कीले खाशोग्गीको हत्याका बारेमा आफूसँग रहेका सबै जानकारी सार्वजनिक गर्ने बताए पनि अहिलेसम्म सार्वजनिक गरेको छैन । यहिबिचमा खाशोग्गीकी फियोन्सी हटिचेले विश्वभरबाट साथ दिनहरुप्रति आभार व्यक्त गर्दै ट्रम्पसँग सत्यतथ्य बाहिर ल्याउन पहल गरिदिन आग्रह गरेकी हुन् ।

अरु क्षेत्रबाट साथ पाए पनि विभिन्न देशका नेताहरु विशेष गरी अमेरिकाबाट आफूलाई निराशा मिलेको उनले बताएकी छन् । लण्डनमा बोल्दै हटिचेले ट्रम्पले सत्य बाहिर ल्याउनका लागि सहयोग गर्नु पर्ने र न्यायको प्रत्याभुति दिलाउनु पर्नेमा जोड दिएकी हुन् ।

ट्रम्प घटनाको कभर–अप अर्थात ढाकछोपका लागि मार्ग प्रसस्त गर्न लाग्न नहुने उनले बताएकी छन् । उनले भनेकी छन्, ‘पैसाले हाम्रो विवेक र मूल्यमान्यता दबाउन दिनु हुँदैन ।’

हटिचेले खाशोग्गीको पार्थिव शरीर चाँडै सार्वजनिक हुने आश रहेको पनि बताइन् ।

कात्तिक १३, २०७५ मा प्रकाशित